निफ्राको नाफा २८ प्रतिशत घट्यो, अधिकांश सूचकमा गिरावट

६ बैशाख २०८३, आईतवार ०८:५३

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सार्वजनिक गरेको चालू आवको तेस्रो वित्तीय विवरण अनुसार गत चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफासँगै अधिकांश सूचकहरूमा गिरावट आएको हो।

गत आवको चैत मसान्तसम्म (९ महीनाको अवधिमा) ९० करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा चालू आवको सोही अवधिमा २८.५३ प्रतिशतको गिरावट सहित जम्मा ६४ करोड ३३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाउन सफल भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४८ करोड १९ लाख रुपैयाँबाट २७ प्रतिशतले घटेर १ अर्ब ८ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा पनि १ अर्ब २८ करोड ५७ लाख रुपैयाँबाट २८.४२ प्रतिशतले घटेर ९२ करोड २ लाख रुपैयाँमा झरेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ५.५६ रुपैयाँबाट घटेर ३.९७ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ ११७.८१ रुपैयाँबाट घटेर ११५.८४ रुपैयाँमा कायम भएको छ। वितरणयोग्य मुनाफा पनि ७६ करोड ९५ लाख रुपैयाँबाट ३०.१२ प्रतिशतले घटेर ५३ करोड ७७ लाख रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले ग्राहकमा २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*