महुली लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

६ बैशाख २०८३, आईतवार ०९:१५

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयका लागि दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्रको इजाजत प्राप्त यस संस्थाले फिल्ड सञ्चालनका लागि कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।

कनिष्ठ सहायक पद (सहायक श्रेणी) का लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट १०+२ वा सो सरह उत्तीर्ण भई कम्प्युटर (इमेल, इन्टरनेट, अफिस प्याकेज) तथा लघुवित्त सफ्टवेयर चलाउन सक्ने हुनु पर्नेछ। साथै दुईपाङ्ग्रे सवारी साधनसहित लाइसेन्स भएको, अन्य लघुवित्तमा कम्तीमा एक वर्ष फिल्ड अनुभव भएको हुनु पर्नेछ। महुली लघुवित्तको स्थानीय सहजकर्ताको रूपमा ६ महिनाभन्दा बढी काम गरेका व्यक्तिले पनि आवेदन दिन सक्नेछन्।

प्रशिक्षार्थी कनिष्ठ सहायक (सहायक श्रेणी) पदका लागि पनि १०+२ उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी सामान्य ज्ञान भएको र दुईपाङ्ग्रे सवारी साधनसहित लाइसेन्स भएको हुनु पर्नेछ। महुली लघुवित्तमा स्थानीय सहजकर्तामा कार्यरतले पनि आवेदन दिन सक्नेछन्। यो पदमा तोकिएको २२ जिल्लाका उम्मेदवारलाई ग्राह्यता दिइने सूचनामा उल्लेख गरिएको छ।

उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ तर महिलाका लागि माथिल्लो उमेर हदमा ५ वर्षसम्म छुट दिइनेछ। कनिष्ठ सहायक पदमा ६ महिनाको परीक्षणकाल रहनेछ भने प्रशिक्षार्थी पदमा ६ महिनाको तालिम अवधि तोकिएको छ। छनोट प्रक्रियाअन्तर्गत कनिष्ठ सहायकका लागि कम्प्युटर प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता तथा प्रशिक्षार्थी पदका लागि लिखित परीक्षा, अन्तर्वार्ता र फिल्ड अवधारणासम्बन्धी मूल्यांकन गरिनेछ।

इच्छुक उम्मेदवारले संस्थाको वेबसाइटको ‘करियर’ सेक्सनबाट आवेदन फारम डाउनलोड गरी आवश्यक कागजातसहित इमेलमार्फत पठाउनुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख २० गते कार्यालय समयभित्र तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*