मध्यपूर्व तनावको प्रत्यक्ष असर: घट्यो वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको संख्या

काठमाडौँ । मध्यपूर्वमा जारी तनावका कारण वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्यामा गिरावट आएको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्ष ०८२/८३ को चैत मसान्तसम्मको तथ्यांकका आधारमा यस्तो देखाएको हो ।
फागुन १६ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले खाडी क्षेत्रका विभिन्न मुलुकमा प्रतिआक्रमण गरेसँगै त्यहाँको सुरक्षा अवस्था अस्थिर बनेको थियो । यस घटनापछि नेपाल सरकारले खाडी मुलुकका लागि सबै प्रकारका नयाँ श्रम स्वीकृति रोक्ने निर्णय गरेको थियो । यद्यपि ५ चैत र १ वैशाखमा पुनः श्रम स्वीकृति नवीकरणका लागि भने अनुमति खोलिएको छ । नयाँ श्रम स्वीकृति भने अझै पनि स्थगित छ ।
यसको प्रत्यक्ष असर वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्यामा देखिएको छ । विभागका अनुसार चैत महिनामा २० हजार ५४५ जनाले मात्रै नयाँ श्रम स्वीकृति लिएका छन्, जुन चालू आर्थिक वर्षका महिनाहरूमध्ये सबैभन्दा कम हो । चालू आवका नौ महिनामा कुल दुई लाख ९४ हजार ८१ जनाले पहिलोपटक वैदेशिक रोजगारका लागि अनुमति लिएका छन् ।
मासिक विवरण हेर्दा साउनमा ४४ हजार ४६६, भदौमा ४५ हजार ७३२, असोजमा ३३ हजार २६१, कात्तिकमा २२ हजार ५१४, मंसिरमा २९ हजार ६१८, पुसमा ३१ हजार ७५०, माघमा ३७ हजार ८१२ र फागुनमा २८ हजार ३८३ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । तर चैतमा यो संख्या उल्लेख्य रूपमा घटेको देखिन्छ ।
खाडी मुलुकमा जाने कामदारको हिस्सा ठूलो हुने भएकाले त्यहाँ नयाँ श्रम स्वीकृति रोकिँदा समग्र वैदेशिक रोजगार प्रभावित भएको विभागको तथ्यांकले देखाउँछ । युएई, कतार, साउदी अरब, ओमान, कुवेत, जोर्डन र टर्की जस्ता प्रमुख गन्तव्यमा चैत महिनामा नयाँ स्वीकृति शून्य रहेको भए पनि विदेशबाट बिदामा फर्किएका कामदारले नवीकरणमार्फत पुनः रोजगारीमा फर्किएका छन् ।
नवीकरणतर्फ युएईका लागि ११ हजार ४६४, कतारका लागि ८ हजार ५९५, साउदी अरबका लागि ८ हजार ९२०, ओमानका लागि ३७६, जोर्डनका लागि १८, कुवेतका लागि १ र टर्कीका लागि ३४ जनाले श्रम स्वीकृति नवीकरण गरेका छन् ।
चालू आवका नौ महिनामा कुल दुई लाख ९४ हजार ८१ जनाले पहिलोपटक वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको दुई लाख ४९ हजार ६५२ भन्दा बढी हो । तर समग्रमा नयाँ र पुनः श्रम स्वीकृति जोड्दा चालू आवको नौ महिनामा पाँच लाख ८७ हजार ३४० जना वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो आवको सोही अवधिमा यो संख्या ६ लाख ७ हजार ८७४ थियो ।
महिनागत रूपमा हेर्दा साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार ५५९, माघमा ७० हजार ५०३, फागुनमा ५२ हजार ९४४ र चैतमा ६१ हजार ८१९ जना वैदेशिक रोजगारमा गएको विभागको तथ्यांकमा उल्लेख छ ।











