२० करोडभन्दा बढी कारोबारमा अब अनिवार्य ई–बिलिङ
६ बैशाख २०८३, आईतवार १४:५१

काठमाडौँ । आन्तरिक राजस्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीहरूका लागि विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नु अनिवार्य गरेको छ। यसअघि यस्तो सीमा २५ करोड रुपैयाँ रहेकोमा विभागले संशोधन गर्दै २० करोड रुपैयाँमा झारेको हो।
विभागका अनुसार कारोबारको प्रकृतिअनुसार प्रत्यक्ष रूपमा ग्राहकलाई बिल जारी नगर्ने बैंक तथा वित्तीय संस्थाजस्ता निकाय बाहेक सबै सम्बन्धित करदाताले अब ई–बिलिङ प्रणाली अनिवार्य रूपमा अपनाउनुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार बिल जारी गरेलगत्तै उक्त विवरण आन्तरिक राजस्व विभागको केन्द्रीय बीजक अनुगमन प्रणालीमा स्वतः आबद्ध हुनुपर्नेछ। विभागले यो निर्णय चैत २७ गते नै गरिसकेको भए पनि हाल सम्बन्धित करदाता तथा कार्यालयहरूलाई यसको कार्यान्वयनका लागि निर्देशन दिएको जनाएको छ।











