नेपाली बजारमा ‘टोयोटा प्राडो’ को माग उच्च, डिलर इस्ट लिंकले गर्यो ६ महिनामा १ अर्ब ४५ करोडको व्यापार

६ बैशाख २०८३, आईतवार १७:४५

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक डिलर इस्ट लिंक अटोमोबाइल्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। इक्रा नेपालको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीको यो व्यापारिक प्रदर्शन अघिल्लो आर्थिक वर्षको लामो अवधिको कुल कारोबारभन्दा पनि बढी देखिएको छ।

प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको आठ महिनामा कम्पनीले करिब १ अर्ब ३८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो। तर चालु आर्थिक वर्षको पहिलो आधा अवधिमै सोभन्दा बढी कारोबार हुनु कम्पनीको बजार विस्तार र बिक्री क्षमतामा उल्लेखनीय वृद्धि भएको संकेतका रूपमा लिइएको छ।

इस्ट लिंक अटोमोबाइल्सले युनाइटेड ट्रेडर्स सिन्डिकेट अन्तर्गत क्षेत्रीय डिलरका रूपमा टोयोटा गाडीहरूको व्यापार गर्दै आएको हो। कम्पनीले सन् २०२४ जुलाईदेखि यो जिम्मेवारी सम्हाल्दै आएको हो र छोटो समयमै प्रिमियम सवारीसाधन बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ।

कम्पनीको व्यापार संरचना हेर्दा उच्च मूल्यका सवारीसाधनमा बढी निर्भरता रहेको छ। विशेषगरी टोयोटा प्राडोले कम्पनीको कुल आम्दानीमा करिब ७० प्रतिशत हिस्सा ओगटेको छ भने टोयोटा हाइलक्सको योगदान करिब १० प्रतिशत रहेको छ। यी दुवै मोडेल नेपालमा प्रिमियम वर्गका ग्राहकबीच अत्यधिक लोकप्रिय मानिन्छन्।

हाल कम्पनीले काठमाडौंको उत्तरढोकामा आफ्नै शोरूममार्फत व्यापार सञ्चालन गर्दै आएको छ। बजारमा विद्युतीय सवारीसाधनको विस्तार तीव्र भए पनि इस्ट लिंक अटोमोबाइल्सले इन्धनबाट चल्ने प्रिमियम एसयूभी र पिकअप सेगमेन्टमै आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ।

वित्तीय व्यवस्थापनतर्फ कम्पनीले व्यापार विस्तार र सवारी आयातका लागि आवश्यक कार्यशील पुँजी व्यवस्थापन गर्न करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण सीमा कायम गरेको छ। इक्रा नेपालले उक्त ऋण सुविधालाई ए फोर प्लस स्तरको मूल्यांकन प्रदान गरेको छ। हाल कम्पनीसँग उपलब्ध ऋण सीमामध्ये करिब १६ करोड ८० लाख रुपैयाँ अझै प्रयोग हुन बाँकी रहेको छ।

कम्पनीको नेतृत्व अनुभवी व्यवसायी राजेन्द्र विक्रम पौडेलले गरिरहेका छन्। उनी सन् २००७ देखि नै टोयोटा गाडीको व्यवसायसँग आबद्ध रहँदै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*