लघुबीमा कम्पनीहरूमा एकै घरानाको १५ प्रतिशतभन्दा बढी शेयर लगानी हुँदा पनि प्राधिकरण मौन

७ बैशाख २०८३, सोमबार १३:१७

काठमाडौं । लघुबीमा कम्पनीहरूमा प्रत्यक्ष रूपमै १५ प्रतिशतभन्दा बढी शेयर लगानी हुँदा पनि बीमा प्राधिकरण मौन बसेको पाइएको छ। नियामक निकाय नै यसरी चुप बस्नुलाई आशंकाको रुपमा पनि हेरिएको छ ।

बीमा ऐन, २०७९ ले बीमा कम्पनीमा एकै व्यक्ति वा परिवारलाई १५ प्रतिशतभन्दा बढी शेयर दिन बन्देज लगाएको छ।

बीमा ऐनको दफा २५ मा भनिएको छ, एकजना व्यक्ति वा निजको एकाघरको परिवार वा निजको एकाघरको परिवारको सदस्य आधारभूत शेयरधनी रहेको कुनै कम्पनी वा संगठित संस्थाले यस दफाबमोजिम स्थापना हुने बीमा कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी हुने गरी शेयर लगानी गर्न सक्ने छैन।

तर, लघुबीमा कम्पनीहरूमा प्रत्यक्ष रूपमै १५ प्रतिशतभन्दा बढी शेयर लगानी देखिँदा पनि छानबिन अघि बढेको छैन। जस्तै, उदाहरणका लागि लिबर्टी माइक्रो इन्स्योरेन्समा लाङटाङ इन्भेष्टमेन्ट र पाल्दोर इन्भेष्टमेन्टको समान २१.४३ प्रतिशतका दरले लगानी भएको यसको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनमा खुल्छ।

त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्समा लोबुचे इन्भेष्टमेन्ट र घान्द्रुक इन्भेष्टमेन्टको समान २१.४ प्रतिशतका दरले लगानी भएको इक्रा नेपालको अक्टोबर १६, २०२५ मा प्रकाशित क्रेडिट रेटिङ विवरणपत्रमा उल्लेख छ।

बीमा ऐन २०७९ अनुसार एकै किसिमको व्यवसाय गर्ने कम्पनीमा प्रतिहिस्सेदारी (क्रसहोल्डिङ) गर्न मिल्दैन। तर, शंकर समूहसहितका कयौँ व्यवसायीले कयौँ कम्पनीमा प्रतिहिस्सेदारी हुने गरी आधारभूत शेयरधनीका रूपमा शेयर लगानी गरेका छन्।

बीमा कम्पनीमा हिस्सा भएका घरानाहरुको पनि लघु बीमा कम्पनीहरूमा पनि प्रतिहिस्सेदारी भएको पाइएको छ।

गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनीमा शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवालको स्वामित्वको एसजी फिनकर्पको १५ प्रतिशत शेयर लगानी छ।

नेपाल माइक्रो इन्स्योरेन्समा शंकरलालका छोरा साहिलको कम्पनी सेन्ट्रल क्यापिटलको ९.७६ प्रतिशत र सारथी क्यापिटलको १४.८६ प्रतिशत लगानी छ। सारथी क्यापिटल सुभी अग्रवालको नाममा दर्ता छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*