जीवन बीमकको नयाँ व्यवसाय ३०% ले बढ्यो, अग्रस्थान नेपाल लाइफ र नेशनल, आइएमईको उच्च बृद्धि

११ बैशाख २०८३, शुक्रबार १४:०७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा झण्डै ३२ अर्ब रुपैयाँ माथिको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ९ महिनामा ३१ अर्ब ८७ करोड २ लाख रुपैयाँ नयाँ व्यवसाय गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुको नयाँ बीमा व्यवसाय गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३०.६१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको नयाँ ब्यवसाय २४ अर्ब ४० करोड १ लाख रुपैयाँ रहेको थियो ।

विवरण अनुसार चैत महिनासम्ममा नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यता, गत आवको तुलनामा नयाँ व्यवसाय बृद्धिको आधारमा आइएमई लाइफ आक्रामक देखिएको छ ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन ३८.४३ प्रतिशतले बृद्धि भएर ८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ र दोस्रो स्थनामा रहेको रहेको नेशनल लाइफ इन्स्योरेन्सको सो बीमा शुल्क आर्जन २३.१६ प्रतिशतले बृद्धि भएर ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

साथै, आईएमई लाइफ इन्स्योरेन्स पनि वित्तीय व्यवसायिक रुपमा निकै बलियो बन्दै गइरहेको छ । कम्पनीले गत आर्थिक वर्षको तुलनामा आफ्नो नयाँ व्यवसायलाई ८७.९६ प्रतिशतले बृद्धि गराउन सफल भएको छ । कम्पनीले चैत महिनासम्मको अवधिमा १ अर्ब ७५ करोड ३३ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

समिक्षा अवधिमा एलआईसी नेपालको नयाँ ब्यवसाय ३०.६८ प्रतिशतले बढेर २ अर्ब ४७ करोड, सूर्यज्योति लाइफको २१.३९ प्रतिशतले बढेर १ अर्ब ९५ करोड र सिटिजन्स लाइफको ४३.८२ प्रतिशतले बढेर १ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो ।

यता, हिमालयन लाइफको प्रथम बीमा शुल्क आर्जन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.७४ प्रतिशतले बढेको छ ।

तेस्रो त्रैमाससम्मको अवधिमा एशियन लाइफको प्रथम बीमा शुल्क ४०.२६ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३३ लाख, सानिमा रिलायन्सको २३.४७ प्रतिशतले बढेर १ अर्ब ४७ करोड, रिलायबल नेपाल लाइफको ४३.५७ प्रतिशतले बढेर १ अर्ब ४६ करोड र प्रभु महालक्ष्मी लाइफको २७.९० प्रतिशतले बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको प्राधिकरणले प्रकाशित गरेको तथ्याङमा उल्लेख गरेको छ ।

यता, मेट लाइफको नयाँ ब्यवसाय पनि १८ प्रतिशतले बढेर १ अर्ब १६ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीको १५.३६ प्रतिशतले बढेर ९९ करोड ३० लाख रुपैयाँ पुगेको हो ।

साथै, सन नेपाल लाइफको प्रथम बीमा शुल्क १६.०२ प्रतिशतले बढेर ८३ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*