पुँजी बजारमा निराशै–निराशाः कारोबार समेत सुस्त, किन हलचल भइरहेको छ मार्केट ?

११ बैशाख २०८३, शुक्रबार १५:०६

काठमाडौं । लगातार चार दिनसम्म गिरावट आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । कारोबारको सुरुवातदेखि नै उतार–चढावबीच बजार केही अंकले उकालो लागे पनि समग्र सूचक भने अझै सुस्त अवस्थामा नै रहेको छ । पछिल्ला दिनको निरन्तर गिरावटपछि आजको सुधारलाई लगानीकर्ताले अस्थायी राहतका रूपमा लिएका छन् ।

बजारमा लगातारको गिरावटसँगै कारोबार रकम पनि क्रमशः खुम्चिँदै गएको छ । लगानीकर्ताको सम्पत्ति मूल्यमा आएको गिरावटले बजारको मनोबल कमजोर बनेको छ । विशेषगरी छोटो अवधिका लगानीकर्ताले जोखिम न्यूनीकरण गर्न धमाधम सेयर बिक्री गर्न थालेपछि बजारमा थप बिक्री चाप बढेको छ, जसले अधिकांश समूहगत सूचकहरूमा दबाब सिर्जना गरेको छ ।

यसैबीच, पछिल्ला दिनमा केही व्यक्ति तथा व्यवसायसँग सम्बन्धित अनियमितता अनुसन्धान र कारबाहीका घटनाहरू सार्वजनिक भएपछि त्यसको प्रभाव पनि बजार मनोविज्ञानमा परेको देखिन्छ । यस्ता घटनाले लगानीकर्तामा अनिश्चितता बढाएको र कतिपयले बजारप्रति सतर्कता अपनाउन थालेको विश्लेषण गरिएको छ । यद्यपि, सबै घटनालाई बजारसँग प्रत्यक्ष रूपमा जोड्न नहुने भन्दै नियामक निकायले आफ्नो नियमित अनुगमन जारी राखेको छ ।

विश्लेषकहरूका अनुसार हालको गिरावट दीर्घकालीन संरचनात्मक समस्या भन्दा पनि अल्पकालीन मनोवैज्ञानिक दबाबबाट प्रभावित हुन सक्ने देखिन्छ । ब्याजदरमा आएको गिरावट, वित्तीय प्रणालीको स्थायित्व तथा अर्थतन्त्रका आधारभूत सूचकमा देखिएको सुधारले दीर्घकालीन रूपमा पुँजीबजारलाई बलियो आधार दिने अपेक्षा गरिएको छ । तर तत्कालका लागि बजारमा विश्वास पुनःस्थापना गर्न स्पष्ट नीतिगत दिशानिर्देशन र स्थिरता आवश्यक रहेको उनीहरूको भनाइ छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २७८८.७० बिन्दुमा कायम भएको छ। आज ३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।

६ उपसूचक राताम्य भएको छ भने ७ उपसूचक ओरालो लागेको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*