सात माइक्रो इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका संस्थापक शेयरधनीहरु सम्पत्ति शुद्धिकरण विभागको छानविनमा

काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न बीमा कम्पनीहरूसँग सम्बन्धित संस्थापक शेयर खरिद प्रक्रियामा थप विवरण आवश्यक परेको भन्दै सम्बन्धित पक्षलाई जानकारी बुझाउन आग्रह गरेको छ। विभागले सात माइक्रो इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका संस्थापक शेयरधनीहरुको लगानी तथा प्रिमियम शेयर बापतको रकम कहाँ गएको छ भनेर सम्पत्ति शुद्धिकरण अन्तर्गत छानविन सुरु भएको हो ।
विभागले जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेका तथा स्थापना क्रममा रहेका माइक्रो इन्स्योरेन्स तथा रिइन्स्योरेन्स कम्पनीहरूको अध्ययनका क्रममा पूँजी भुक्तानीसँग सम्बन्धित विस्तृत विवरण संकलन गरिँदैछ।
विभागका अनुसार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टि माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी तथा हिमालयन रिइन्स्योरेन्स स्थापना हुँदा बीमा प्राधिकरणबाट अनुमति लिने क्रममा संस्थापक शेयर खरिद गर्ने लगानीकर्ताहरूले चुक्ता पूँजीबापत कम्पनीमा जम्मा गरेको रकमबाहेक अतिरिक्त शुल्क (प्रिमियम) का रूपमा अन्य व्यक्ति वा संस्थाको बैंक खातामा भुक्तानी गरेको विवरण माग गरिएको हो।
सूचनामा त्यस्ता भुक्तानीसँग सम्बन्धित सम्पूर्ण विवरण स्पष्ट रूपमा उपलब्ध गराउन भनिएको छ। यसअन्तर्गत कति रकम भुक्तानी गरिएको हो, कसको नाममा रहेको छ, कुन बैंक तथा वित्तीय संस्थाको कुन खाता नम्बरमा रकम जम्मा गरिएको हो र कहिले जम्मा गरिएको हो भन्ने सम्पूर्ण विवरण फरक नपर्ने गरी पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
विभागले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आफ्नो कार्यालयमा आवश्यक विवरण बुझाई अनुसन्धान कार्यमा सहयोग गर्न सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ।












