बैदेशिक रोजगार म्यादी बीमाः निजिबाट खोसेर सरकारी कम्पनीलाई दिने तयारी

काठमाडौं । वैदेशिक रोजगार म्यादी बीमाको मोडालिटी सरकारले परिर्वतन गर्ने तयारी गरेको छ । सरकारले निजि बीमा कम्पनीबाट खोसेर यतिबेला वैदेशिक रोजगार म्यादी बीमाको मोडालिटी परिवर्तन गरी सरकारीमा मात्रै गर्ने प्रावधान लागू गर्ने तयारीमा जुटेको छ ।
वैदेशिक रोजगार म्यादी जीवन बीमाको व्यवसाय सरकारी बीमा कम्पनीलाई दिने विषयमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र अर्थसमिपतका पदाधिकारीहरुसँग पनि छलफल भइरहेको पाइएको छ।
बालेन साहको सचिवालयका अनुसार सरकारी स्वामित्वमा रहेका संस्थानहरूमा सरकारको लगानी निरन्तर बढ्दै गए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको कारण सरकारले वैदेशिक रोजगारीको बीमा सरकारी बीमा गराउने अवधारणा अघि बढाएको पाइएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्र अनुसार सार्वजनिक संस्थानहरूमा सरकारको लगानी निरन्तर बढ्दै गए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको निष्कर्ष निकालेको थियो ।
सरकारले वित्तिय र व्यवस्थापकिय रुपमा सरकारको लगानीमा स्थापित बीमा कम्पनीहरूको संस्थागत क्षमतामा भने कमजोर रहेको मन्त्रालयले औल्याएको थियो । सो बिषयमा गहन छानविन गरी सरकारले अनिवार्य वैदेशिक रोजगारको बीमा सरकारी बीमामार्फत गराउने तयारी गरेको छ।
हाल वैदेशिक रोजगार म्यादी जीवन बीमा १३ वटा जीवन बीमा कम्पनीबाट गरिँदै आइरहेको छ।
नेपालमा मेटलाइफ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन बाहेक १३ बीमा कम्पनी र तीन लघु जीवन बीमा कम्पनीहरु रहेका छन् ।
मेटलाइफ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले भने यो बीमा पोलिसि बिक्री गर्दैन । बाँकि सबै कम्पनीहरुले पोलिसि बिक्री गर्दछन्।
प्रधानमन्त्री बालेन शाहको यस प्रस्तावमा भने अर्थमन्त्री स्वर्णिम वाग्लेले सहमती जनाएका छैनन्।
नेपाल बीमा प्राधिकरणका र सरकारी बीमा कम्पनी र बीमा अधिकारीहरुसँग यस विषयमा छलफल भने भईसकेको छैन ।
वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट बार्षिक रुपमा साढे २ अर्बमाथिदेखि तीन अर्ब रुपैयाँसम्म बीमाशुल्क संकलन हुँदै आईरहेको छ ।
चालु आर्थिक बर्ष २०८२÷०८३ को ९ महिनामा २ अर्ब ५० करोड रुपैयाँको वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।












