रिलायबल नेपाल लाइफको नाफासँगै बढ्यो आम्दानी, अन्य सूचक कस्ता?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा सामान्य बढेको हो।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको कुल आम्दानी ५ अर्ब ५० करोड ६७ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ थियो। कुल खर्च पनि बढेर ५ अर्ब २ करोड ७५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च ३ अर्ब ३१ करोड ८ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) घटेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३.३८ रुपैयाँ रहेको ईपीएस चालु आर्थिक वर्षमा घटेर १२.०७ रुपैयाँमा सीमित भएको छ। प्रति शेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.६१ गुणा कायम भएको छ।
वित्तीय अवस्थातर्फ कम्पनीको कुल सम्पत्ति बढेर २४ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो सम्पत्ति २२ अर्ब ४ करोड ३१ लाख रुपैयाँ रहेको थियो। कम्पनीको जगेडा कोष पनि बढेर ६८ करोड ३० लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २७ करोड ६८ लाख रुपैयाँ रहेको छ। यता कम्पनीको जीवन बीमा कोष १६ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको सोल्भेन्सी अनुपात २.५४ गुणा कायम रहेको छ।












