एलआईसी नेपालको नाफा ३५ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेनश नेपाल लिमिटेड (एलआईसी नेपाल) ले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म ३२ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा ३५.७८ प्रतिशतले बढेको देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क आर्जन पनि ८.२२ प्रतिशतले बढेर १५ अर्ब १० करोड १० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम १३ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै कम्पनीको जीवन बीमा कोष १०.४४ प्रतिशत बढेर १ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो कोष १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ रहेको थियो। कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने सामान्य घटेर ७ अर्ब २६ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ थियो। कुल खर्च पनि बढेर २२ अर्ब १६ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च २१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) ५.७२ रुपैयाँबाट बढेर ७.७७ रुपैयाँ पुगेको छ। प्रति शेयर नेटवर्थ १७६.४७ रुपैयाँ कायम रहेको छ। चुक्ता पूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड ९६ लाख रुपैयाँ रहेको छ।












