नौ महीनामा १४ बीमा कम्पनीले कमाए साढे ४ अर्ब मुनाफा, ४ वटाको घट्दा १० वटाको बढ्यो

३० बैशाख २०८३, बुधबार ०९:२६

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट देखिएको छ। अधिकांश कम्पनीहरूले नाफा वृद्धि कायम राखे पनि ठूलो हिस्सा ओगट्ने केही कम्पनीको आम्दानी घट्दा समग्र क्षेत्रको नाफा नै संकुचित भएको छ।

जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र जीवन बीमा उद्योगको कुल नाफा घटेको हो। १४ जीवन बीमा कम्पनीहरूको संयुक्त नाफा समीक्षा अवधिमा ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा यस्तो नाफा ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ रहेको थियो। यस आधारमा जीवन बीमा क्षेत्रको समग्र नाफा ५.५५ प्रतिशतले घटेको देखिन्छ।

समीक्षा अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनी बनेको छ। कम्पनीले चैत मसान्तसम्म ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ४६ करोड ५७ लाख रुपैयाँ रहेको थियो।

लामो समयदेखि बजारमा अग्रस्थानमा रहँदै आएको नेपाल लाइफ इन्स्योरेन्सले भने यस वर्ष नाफामा उल्लेख्य गिरावट व्यहोरेको छ। कम्पनीको नाफा २७.४० प्रतिशतले घटेर ४५ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो।

नेशनल लाइफ इन्स्योरेन्सले ४१ करोड ६६ लाख रुपैयाँ नाफा कमाउँदा आईएमई लाइफको नाफा ३६ करोड ७९ लाख रुपैयाँ पुगेको छ। सिटिजन लाइफले ३६ करोड रुपैयाँ, एशियन लाइफले ३४ करोड ७३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३४ करोड ८ लाख रुपैयाँ तथा सन नेपाल लाइफले ३४ करोड रुपैयाँ नाफा कमाएका छन्।

सूर्यज्योति लाइफको नाफा ३३ करोड ३ लाख रुपैयाँ पुगेको छ भने एलआईसी नेपालले ३२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। एलआईसी नेपालको नाफा वृद्धिदर सबैभन्दा उच्च ३५.७८ प्रतिशत रहेको देखिन्छ।

यस्तै मेट लाइफले ३० करोड २५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २७ करोड ५० लाख रुपैयाँ तथा हिमालयन लाइफले २६ करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन्। हिमालयन लाइफको नाफा भने ४४.६६ प्रतिशतले घटेको छ जुन समीक्षा अवधिमा उल्लेख्य गिरावटमध्ये एक हो।

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको अवस्था अझ कमजोर देखिएको छ। कम्पनीले चैत मसान्तसम्म ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको छ। गत वर्षको तुलनामा यसको नाफा ७३.९५ प्रतिशतले घटेको वित्तीय विवरणमा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*