समस्याग्रस्त ४ सहकारीका ऋणी सार्वजनिक, ऋण नतिरे कडा कारबाही हुने चेतावनी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित चार सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।
समितिले सोमबार सूचना जारी गर्दै सरकारबाट विसं २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरूको विवरण सार्वजनिक गरेको जनाएको हो ।
समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरिएको हो । यसअघि ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा नाम समावेश भएका ऋणीलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
यस्तै, हालसम्म ऋण चुक्ता नगरेका ऋणीलाई यथाशीघ्र बुद्धनगरस्थित समितिको कार्यालयमा सम्पर्क गरी बाँकी ऋण चुक्ता गर्न निर्देशन दिइएको छ ।
समितिले तोकिएको समयभित्र ऋण नतिरे कानुनबमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने तथा असुलउपर गरिने चेतावनी दिएको छ ।












