सभामुख अर्याल र कोरियाली राजदूतबीच भेट, सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आव्हान

१२ जेष्ठ २०८३, मंगलवार १२:००

काठमाडौं । सभामुख डीपी अर्याल र नेपालका लागि दक्षिण कोरियाका राजदूत तायोङ पार्क बीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–कोरिया सम्बन्धलाई थप सुदृढ बनाउने विषयसँगै लगानी, प्रविधि, श्रम, ऊर्जा र संसदीय सहकार्यका विविध आयाममा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सभामुख अर्यालले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासमा दक्षिण कोरियाले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए । नयाँ जनादेशपछि मुलुकमा राजनीतिक स्थायित्व र विकास साझेदारीका लागि सकारात्मक वातावरण निर्माण भइरहेको उल्लेख गर्दै उनले विदेशी लगानीका लागि नेपाल क्रमशः आकर्षक गन्तव्य बन्दै गएको धारणा राखे ।

नेपाल सूचना प्रविधि र डिजिटल पूर्वाधार विस्तारतर्फ तीव्र रूपमा अघि बढिरहेको उल्लेख गर्दै सभामुख अर्यालले कोरियाली लगानीकर्तालाई सूचना प्रविधि, प्राविधिक शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरे । उनले नेपाल–कोरिया संसदीय मैत्री समूह गठन प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै दुई देशका सांसदबीच अनुभव आदानप्रदान र संस्थागत सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने बताए ।

सभामुख अर्यालले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सहजीकरण गरिदिन आग्रह गर्दै नेपाल वायुसेवा निगमको सिधा सिओल उडान सञ्चालनका लागि पनि सकारात्मक भूमिका खेल्न कोरियाली सरकारसँग अनुरोध गरे । नेपाल र कोरियाबीचको सम्बन्ध सरकार–सरकारमा मात्र सीमित नरही जनस्तरमा समेत आत्मीय रूपमा विस्तार हुँदै गएको उनको भनाइ थियो ।

राजदूत पार्कले नेपाललाई दक्षिण कोरियाले विश्वसनीय विकास साझेदारका रूपमा हेरेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारीका क्षेत्रमा सहकार्य निरन्तर अगाडि बढिरहेको बताए । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत हालसम्म करिब एक लाख २० हजार नेपालीले दक्षिण कोरियामा रोजगारीको अवसर प्राप्त गरेको तथा करिब ५० हजार नेपाली अहिले पनि त्यहाँ कार्यरत रहेको जानकारी उनले दिए ।

नेपाली श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै राजदूत पार्कले श्रमिकको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति कोरिया सरकार संवेदनशील रहेको बताए । विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना, सीप विकास र उद्यमशीलतामा जोड्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

नेपालमा कोरियाली लगानी क्रमशः विस्तार भइरहेको उल्लेख गर्दै उनले विशेषगरी ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको बताए । रसुवामा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोजना करिब ८० प्रतिशत सम्पन्न भइसकेको र आगामी वर्षदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको जानकारी उनले दिए । हरित ऊर्जा, स्वच्छ प्रविधि र कार्बन ट्रेडिङका क्षेत्रमा समेत कोरियाली व्यवसायी नेपालमा लगानी विस्तार गर्न इच्छुक रहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*