हिमालयन लघुवित्तले बीमा दाबीमार्फत परिवारलाई राहत, ३ लाख ७५ हजार ऋण मिनाहा भुक्तानी

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरिवन नगरपालिका–४, पटौना टोलमा एक सदस्यलाई बीमा दाबी तथा ऋण मिनाहा बापतको रकम हस्तान्तरण गरेको छ ।
संस्थाको शाखा कार्यालय नयारोड सर्लाहीअन्तर्गत केन्द्र नं. ३० की सदस्य लिली माया मिरिचिङ्गका श्रीमान् कृष्ण बहादुर कार्कीको निधनपछि उक्त सुविधा उपलब्ध गराइएको हो ।
संस्थामा लिएको रु. ३ लाख ७५ हजार कर्जामा बीमा सुविधा लागू भई सम्पूर्ण साँवा तथा ब्याज मिनाहा गरिएको हो । साथै, काजक्रिया खर्चबापत थप रु. २५ हजार समेत प्रदान गरिएको शाखा प्रबन्धक अर्चना भट्टराईले जानकारी दिइन् । यससँगै कुल रु. ३ लाख ७५ हजार बराबरको आर्थिक राहत सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
संस्थाका अनुसार बीमा योजनामार्फत कर्जा लिने सदस्यको आकस्मिक निधनको अवस्थामा बाँकी ऋण दायित्व स्वतः मिनाहा हुने व्यवस्था गरिएको छ, जसले कठिन समयमा सदस्यका परिवारलाई आर्थिक सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा शाखा प्रबन्धक भट्टराई, कर्मचारी सिमा कार्की तथा स्थानीय सदस्यहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले संकटको घडीमा संस्थाले देखाएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।












