विद्युत, इलेक्ट्रोनिक्स र स्मार्ट टेक्नोलोजीको विशाल मेला ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि सुरु हुँदै

१२ जेष्ठ २०८३, मंगलवार १४:१३

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी ”फिन इलेक्ट्रो–टेक २०२६“ जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौं स्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।

नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको वर्तमान सन्दर्भमा सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको छ । बजारमा विद्युतीय सामग्रीको माग र प्रयोग दिन प्रतिदिन बढिरहेको अवस्थामा उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्यले ”फिन इलेक्ट्रो–टेक २०२६“ आयोजना गर्न लागिएको हो ।

यस प्रदर्शनीले नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवद्र्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यवसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै ऊर्जा, पूर्वाधार, स्मार्ट प्रविधि तथा दिगो विकाससँग सम्बन्धित नयाँ अवसरहरूको पहिचान तथा व्यवसायिक सम्भावनाको विस्तारमा समेत यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास हाम्रो रहेको छ ।

चार दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल सहित विभिन्न देशका प्रतिष्ठित कम्पनीहरू, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल तथा कण्डक्टर, एलईडी लाइटिङ्ग, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्रीहरूको प्रदर्शन गरिनेछ ।

प्रदर्शनी अवलोकनकर्ताका लागि आधुनिक प्रविधि, सुरक्षित तथा गुणस्तरीय सामग्री, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनहरूको प्रत्यक्ष जानकारी प्राप्त गर्ने उत्कृष्ट अवसर हुनेछ । उपभोक्ताले एउटै स्थलमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू तुलना गर्न, प्राविधिक जानकारी लिन, नयाँ प्रविधिको अनुभव गर्न सक्ने व्यवस्था गरिएको छ । यसले आम उपभोक्तामा सुरक्षित विद्युतीय सामग्रीको प्रयोग बारे सचेतना अभिवृद्धि गर्न सहयोग पुग्नेछ ।

त्यसैगरी प्रदर्शक कम्पनीहरूका लागि ”फिन इलेक्ट्रो–टेक २०२६“ आफ्नो ब्राण्ड प्रवद्र्धन, नयाँ उत्पादन सार्वजनिक, व्यवसायिक नेटवर्क विस्तार, सम्भावित ग्राहक तथा वितरकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना तथा नेपाली बजारको सम्भावना अध्ययन गर्ने महत्वपूर्ण प्लेटफर्म बन्नेछ । नेपाल सहित दक्षिण एशियाली बजारमा आफ्नो पहुँच विस्तार गर्न इच्छुक कम्पनीहरूका लागि समेत यो प्रदर्शनी प्रभावकारी व्यवसायिक अवसरको रूपमा रहने अपेक्षा गरिएको छ । प्रदर्शनीका सम्पूर्ण स्टलहरु बुकिङ्ग भई सकेका छन् ।

”फिन इलेक्ट्रो–टेक २०२६“ को टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा. लि.) रहेको छ भने पावर बाईमा ह्याभेल्स (ह्याभेल्स इन्डिया लिमिटेड), प्लेटिनम स्पोन्सरमा जनता के.इ.आई. (जनता केबल इन्डस्ट्रिज प्रा. लि.) रहेको छ । यसै गरी डायमण्ड स्पोन्सरमा लेजर इन्डिया (लेजर इन्डिया प्राइभेट लिमिटेड) र ग्रेटहाइट इलेक्ट्रीकल्स (ग्रेटहाइट ग्लोबल प्रा. लि.) रहेका छन् । प्रदर्शनीका गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलईडी (एस.एम.सी. ग्लोबल प्रा. लि.) रहेको छ । यसै गरी अफिसियल बैंकमा नविल बैंक लिमिटेड र अफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन् भने अफिसियल क्यारियरमा एस.के.बी ग्रुप रहेको छ । टेक्नोलोटी पार्टनरमा जुलाई टेक ल्याब्स छ भने इन्टरनेट पार्टनरमा सजिलो नेट रहेको छ । प्रदर्शनीको व्यवस्थापन मिडिया स्पेसले गरिरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायत विभिन्न सरोकारवाला संस्थाहरूको सहयोग तथा सहभागिता रहने यस प्रदर्शनीमा देश तथा विदेशबाट उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी तथा आम सर्वसाधारण गरी हजारौं आगन्तुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*