१८ महिनामा नेपालबाट ६७५ विदेशी नागरिक निष्कासन
१२ जेष्ठ २०८३, मंगलवार १४:३७

काठमाडौँ । अध्यागमन विभागले झण्डै १८ महिनाको अवधिमा ६७५ विदेशी नागरिकलाई निष्कासन गरिएको जनाएको छ। अवैध रूपमा बसोबास तथा काम गरिरहेका विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी निष्कासन गरिएको विभागले जनाएको हो।
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायसँग मंगलबार आयोजित एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा यसबारे जानकारी दिइएको हो।
विभागका अनुसार सन् २०२५ मा अवैध रूपमा काम गर्ने ५२३ विदेशी नागरिकलाई निष्कासन गरिएको थियो भने सन् २०२६ को मे २५ सम्म थप १५२ जना विदेशी नागरिक निष्कासनमा परिसकेका छन्।
हाल देशका १८ वटा कार्यालयमार्फत अध्यागमन सुधार तथा नियमनसम्बन्धी काम भइरहेको विभागले जनाएको छ।












