घट्यो पुँजी बजारः ११ उपसूचक राताम्य, बजेटले ल्याउँला त हरियाली ?

काठमाडौँ । पछिल्ला दुई दिन लगातार हरियाली देखिएको शेयर बजारमा आज भने सामान्य करेक्सन देखिएको छ । बजारमा छोटो समयको बढोत्तरीपछि मुनाफा सुरक्षित गर्ने (प्रोफिट बुकिङ) प्रवृत्ति हावी हुँदा सूचक केही घटेको हो । यद्यपि, समग्र कारोबार भने सक्रिय नै रहेको देखिएको छ । आगामी केही दिनमा बजेट नजिकिँदै जाँदा लगानीकर्ताबीच सतर्कता बढ्दै गएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट नजिकिँदै गर्दा शेयर बजारमा नीति तथा कार्यक्रमले के कस्ता माग सम्बोधन गर्ने भन्ने विषयमा लगानीकर्ताको ध्यान केन्द्रित भएको छ । कर, पूँजी बजार सुधार, डिम्याट शुल्क, लाभांश कर र लगानीमैत्री नीतिहरूबारे सम्भावित घोषणालाई लिएर बजारमा उच्च अपेक्षा देखिएको छ । यही कारण लगानीकर्ताहरू अहिले “पर्ख र हेर” को अवस्थामा पुगेका छन् ।
नयाँ नेतृत्वको सरकारले ल्याउन लागेको बजेटप्रति शेयर लगानीकर्ताले ठूलो आशा राखेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले समेत बजेट आउनुअघि धैर्य गर्न लगानीकर्तालाई आग्रह गर्दै आएका छन् । यसले बजारमा तत्कालिक उतारचढाव भए पनि दीर्घकालीन रूपमा नीति सुधार र सहुलियत आउन सक्ने संकेत दिएको भन्दै सकारात्मक सन्देश फैलिएको छ ।
यसैबीच केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू पक्राउ परेपछि बजारमा केही समय अनिश्चितता बढेको थियो । उक्त घटनाले लगानीकर्ताको मनोबलमा दबाब सिर्जना गर्दै अल्पकालीन रूपमा बिक्री चाप बढाएको विश्लेषकहरूको भनाइ छ । तर पछिल्ला दिनमा उक्त प्रभाव क्रमशः कमजोर हुँदै गएको र बजारले पुनः सन्तुलन खोज्न थालेको देखिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक रहेको देखिन्छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु तथा आर्थिक गतिविधिमा सुधारको संकेतले आगामी दिनमा शेयर बजारलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अकंले घटेर २७७७.१० बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड १८ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८५ करोड ७ लाख ७६ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.२४ प्रतिशत, विकास बैंक समूहको ०.४८ प्रतिशत, फाइनान्स समूहको ०.४४ प्रतिशतले शेयर मूल्य घटेको हो ।

मंगलबार ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९० कम्पनीको शेयर मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












