नेपाल र रोमानिया बिजनेस फोरमः व्यापार, लगानी र श्रम सहकार्य विस्तारमा निजी क्षेत्रको साझा प्रतिबद्धता

१२ जेष्ठ २०८३, मंगलवार १६:३५

काठमाडौँ ।  नेपाल तयारी पोशाक उद्योग संघद्वारा जेठ ११ गतेमा काठमाडौं मा ‘इनागुरेसन एन्ड इन्टरयाक्सन प्रोग्राम अन आरएमजी सेक्टर एन्ड नेपाल–रोमानिया बिजनेस फोरम’ विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन, श्रम सहकार्य तथा निजी क्षेत्रबीचको सम्बन्ध विस्तारका विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल तयारी पोशाक उद्योग संघ पशुपति देव पाण्डेले नेपाल तयारी पोशाक संघ र चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ रोमानिया बीच सन् २०२३ अगस्ट २७ मा सम्पन्न सहकार्य प्रोटोकलले दुई देशबीच व्यापार, लगानी, पूर्वाधार विकास, सीप विकास तालिम, सूचना प्रविधि, ई-कमर्स तथा B2B र B2C व्यापारिक सम्बन्ध विस्तारका नयाँ सम्भावना सिर्जना गरेको बताए । उनले आर्थिक वर्ष २०२४/२५ मा नेपालबाट रोमानियातर्फ करिब १.१७ मिलियन अमेरिकी डलर बराबरको निर्यात भएको तथा रोमानियाबाट नेपालमा करिब ६९० हजार अमेरिकी डलर बराबरको आयात भएको जानकारी दिए । विशेषगरी तयारी पोशाक नेपालबाट रोमानियामा निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार तथा लगानी सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालले उच्च गुणस्तरका तयारी पोशाक, हस्तकला, जडीबुटीजन्य वस्तु, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताए। उनले रोमानियालाई युरोपेली बजारको प्रवेशद्वारको रूपमा उल्लेख गर्दै पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि तथा उत्पादनमूलक क्षेत्रमा रोमानियाली लगानी भित्र्याउन नेपाल तयार रहेको धारणा राखे। साथै, सुरक्षित र व्यवस्थित श्रम आप्रवासन विस्तारले दुवै देशलाई लाभ पुग्ने उनले बताए ।

भारत, नेपाल तथा बंगलादेशका लागि रोमानियाका राजदूत महामहिम सेना लतिफले नेपाल-रोमानिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा रोमानियामा कार्यरत ठूलो संख्यामा रहेका नेपाली समुदायको योगदानबारे प्रकाश पार्नुभयो। त्यसैगरी आर्थिक कन्सुलर इओनुत भिजिरुले रोमानिया तथा त्यहाँका आर्थिक तथा विकासका सम्भावनाबारे प्रस्तुति दिए ।

नेपाल- रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष वविता पाण्डेले नेपाल- रोमानिया चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीले दुई देशका व्यवसायिक समुदायबीच दीर्घकालीन सहकार्य, लगानी संवाद तथा पारस्परिक हितका अवसर विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। त्यस्तै चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री अफ रोमानियाका प्रतिनिधि कोलेटा इओआना चिउफुडियनले दुई देशका चेम्वरको सहकार्यप्रति आभार व्यक्त गर्दै उद्यमशीलता, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनमा संयुक्त सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल र रोमानियाका विषयमा भिडियो प्रस्तुति समेत प्रदर्शन गरिएको थियो। अन्त्यमा संघका प्रथम उपाध्यक्ष वसन्त राज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*