जीवन बीमकको नविकरण बीमा शुल्क आर्जन एक खर्ब २० अर्ब, अग्रस्थानमा नेपाल लाइफ र एलआइसी नेपाल

१२ जेष्ठ २०८३, मंगलवार १८:१५

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को बैशाख मसान्तसम्मको अवधिमा एक खर्ब २० अर्ब ७१ करोड ६३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले १० महिनाको अवधिमा सो नविकरण बीमा शुल्क आर्जन गरेका हुन् ।

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन १०.३१ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले एक खर्ब ९ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेका थिए । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा बृद्धि आएसँगै प्रत्यक वर्ष पोलिसी नविकरणमा पनि बृद्धि आएका कारण नविकरण बीमा शुल्क आर्जन बढ्दै गएको छ ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्स र एलआईसी नेपालको नविकरण बीमा शुल्क आर्जन सबैभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको तुलनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी र आइएमई लाइफ इन्स्योरेन्सको सो रकम सर्वाधिक प्रतिशतले बृद्धि भएको छ ।

 वृद्धिदरका आधारमा

चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ३२ अर्ब दुई करोड ७६ लाख रुपैयाँ, एलआईसी नेपालले १४ अर्ब सात करोड ६३ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ९८ करोड ५० लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ५९ करोड २६ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन १८.२६ प्रतिशतले बढेर नौ अर्ब एक करोड, सूर्यज्योति लाइफको १२.७४ प्रतिशतले बढेर सात अर्ब चार करोड, एशियन लाइफको ९.११ प्रतिशतले बढेर छ अर्ब सात करोड, सिटिजन लाइफको १५.६२ प्रतिशतले बढेर चार अर्ब ५७ करोड, सानिमा रिलायन्सको १४.५३ प्रतिशतले बढेर चार अर्ब ३५ अर्ब र मेट लाइफको ८.३९ प्रतिशतले बढेर चार अर्ब २० करोड रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिमा आइएमई लाइफको २२.८२ प्रतिशतले बढेर तीन अर्ब ५७ करोड, प्रभु महालक्ष्मी लाइफको १४.४२ प्रतिशतले बढेर तीन अर्ब ३० करोड, रिलायबल नेपाल लाइफको १८.३६ प्रतिशतले बढेर तीन अर्ब २९ करोड र सन नेपाल लाइफको १७.२९ प्रतिशतले बढेर दुई अर्ब ५९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*