प्रधानमन्त्री बालेन, अर्थमन्त्री डा. वाग्ले र सभापति लामिछानेबीच मध्यरातिसम्म चार घण्टा गोप्य छलफल

काठमाडौं । गएराति सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयका पार्टीका शीर्ष नेतासहित प्रधानमन्त्री र अर्थमन्त्रीका बीचमा गम्भिर छलफल भएको छ । स्रोतका अनुसार करिब साँझ छ बजेदेखि सुरु भएको छलफल राति १० बजेसम्म चलेको थियो । कार्यव्यस्तता र पत्रकारहरुले हैरान पार्ने भएपछि साँझपछि मात्रै बैठक सुरु भएको थियो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीचमा छलफल भएको हो । बैठक कसको आग्रहमा बसेको हो खुल्न सकेको छैन । सामान्यतया, पार्टी नेता वा अन्य कसैसँग भेटघाट नै गर्न नमान्ने प्रधानमन्त्री बालेन्द्र शाहले हिजो मध्यरातिसम्म गोप्य छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सरकार बनेको दुई महिना पनि नपुग्दै चौतर्फी आलोचना, संसदमा अप्ठेरो स्थिति सिर्जना भइसकेको छ । सुकुम्बासीको बस्ती खाली गर्ने नाममा गरिएको विध्वंसमा दुई जनाले आत्महत्या गरेको बिषय अन्तर्राष्ट्रियकरण हुन बाँकी नै छ ।
पछिल्ला दिनहरुमा प्रधानमन्त्री शाहका कारण रास्वपाले भोगिरहेको अप्ठेरोको बिषयमा पार्टी सभापति लामिछानेले खुलेर कुरा राखेको हुनक्ने बुझिएको छ । प्रष्ट बक्ता लामिछानेले पछिल्ला दिनहरुमा सरकारले गरेका कामहरुको सम्बन्धमा पार्टीले प्रतिरक्षा गरिरहेको भएपनि पार्टीले भोगेको क्षतिका सम्बन्धमा स्पष्ट धारणा राखेको हुनसक्ने बुझिएको छ ।
स्रोतका अनुसार हिजो मध्यरातिसम्म भएको भेटवार्तामा पार्टी सभापति रवि लामिछानेको आसन्न भारत भ्रमण, संसदमा प्रधानमन्त्री उपस्थित हुन माग राखेर विपक्षीहरुले गरेको विरोधको बिषयमा पनि सामान्य छलफल भएको बताइन्छ । यद्यपि गोप्य भेटघाटको बिषय बाहिर आइसकेको छैन ।











