सिन्धुलीको एसपीदेखि जवानसम्म १० जना प्रहरीमाथि कारवाही सिफारिस

१३ जेष्ठ २०८३, बुधबार ०६:५३

काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

हिरासतमा रहेका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएपछि नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले घटनाको अनुसन्धानपछि विभिन्न तहका प्रहरी कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरेको हो ।

समितिको प्रतिवेदन अनुसार १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत दिने र १ जनालाई ग्रेड घटुवा गर्ने सिफारिस गरिएको छ ।

समितिले हिरासतमा रहेका व्यक्तिको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने निष्कर्ष समेत निकालेको छ । हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन गर्न, डिउटीका समयमा अन्य काममा संलग्न नहुन र हिरासतमा नियमित निगरानी अनिवार्य गर्न सुझाव दिइएको छ ।

त्यस्तै कुनै पनि असामान्य गतिविधि तत्काल रिपोर्ट गर्ने प्रणाली लागू गर्नुपर्ने, सामाजिक तनाव सिर्जना हुन सक्ने तथा अन्तर्जातीय सम्बन्धजस्ता संवेदनशील घटनामा थप सतर्क भएर अनुसन्धान गर्नुपर्ने समितिको सुझाव छ । यस्ता घटनामा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय भूमिका आवश्यक रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिले जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन, निरीक्षण र सुपरीवेक्षण अझ प्रभावकारी बनाउन सचेत गराउँदै प्रत्येक प्रहरी इकाइमा नियमित अनुगमन, हिरासत अवस्थाको मूल्याङ्कन तथा सुधारमुखी कार्ययोजना लागू गर्न समेत सुझाव दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*