समस्याग्रस्त सहकारीका ऋणीबाट असुलिएको रकमबाटै बचत फिर्ता, राज्यकोष प्रयोग नगरेको समितिको दाबी

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुल गरिएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले राज्यकोषको रकमबाट बचत फिर्ता नगरिएको जनाएको हो ।
समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजारभन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताको रकम फिर्ता कार्य चरणबद्ध रूपमा भइरहेको छ । हालसम्म चक्रीय कोष स्थापना नभएको भए पनि ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमकै आधारमा बचत फिर्ता गरिएको समितिले जनाएको छ ।
समितिले जारी गरेको विज्ञप्तिमा हालसम्म चक्रीय कोष स्थापना भई खाता सञ्चालन नभएको स्पष्ट पार्दै समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको उल्लेख गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत १३ को बैठकबाट स्वीकृत १०० कार्यसूचीको बुँदा नम्बर ९९ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरिसकेको छ ।
समितिले कर्जा असुलीलाई प्राथमिकतामा राखी काम भइरहेको र हालसम्म सम्बन्धित सहकारीका ऋणीबाट असुल भएको रकम सोही सहकारीका बचतकर्तालाई नै फिर्ता गरिएको जनाएको छ । यस प्रक्रियामा राज्यकोषको रकम प्रयोग नभएको र सम्पूर्ण फिर्ता असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त स्रोतबाट मात्र गरिएको समितिको दाबी छ ।












