सार्वजनिक संस्थानमा २७ नाफामा: १६ घाटामा, २ बन्द अवस्थामा

१३ जेष्ठ २०८३, बुधबार १४:०७

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा देशमा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानहरूमध्ये २७ वटा नाफामा, १६ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेको जनाएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सार्वजनिक संस्थानहरूको नाफा–नोक्सानी संरचनामा अघिल्लो वर्षको तुलनामा सामान्य गिरावट देखिएको छ । अघिल्लो वर्ष २८ वटा संस्थान नाफामा र १५ वटा नोक्सानीमा रहेका थिए । यसले संस्थानहरूको समग्र कार्यसम्पादनमा केही दबाब परेको संकेत गरेको छ ।

सरकारको यी सार्वजनिक संस्थानहरूमा कुल ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ लगानी रहेको छ । सोमध्ये ३ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ शेयर लगानी र ४ खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, अर्थतन्त्रका समग्र सूचकहरू भने सकारात्मक देखिएका छन् । चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.७२ प्रतिशत थियो ।

त्यसैगरी, वित्तीय पहुँच र डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको छ । २०८२ फागुनसम्म बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या ६ करोड २० लाख ६० हजार नाघेको छ भने कर्जा खाताको संख्या २० लाख ४० हजार पुगेको छ ।

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ९४ लाख पुगेको छ भने इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजार पुगेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*