बजेटअघिको अन्तिम कारोबारमा बढ्यो बजारः कारोबार ६ अर्ब, अब होला त हरियाली ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुनुअघि अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । बजेट नजिकिँदै जाँदा लगानीकर्ताहरूमा सतर्कता बढ्दै गएको छ भने बजार पर्ख र हेर को अवस्थामै सीमित बनेको विश्लेषकहरू बताउँछन् । नीति तथा कार्यक्रमले कस्ता क्षेत्रलाई सम्बोधन गर्छ भन्ने विषयमा लगानीकर्ताको ध्यान केन्द्रित भएको छ ।
बजेटमा कर नीति, पूँजी बजार सुधार, डिम्याट शुल्क, लाभांश कर तथा समग्र लगानीमैत्री वातावरणसँग सम्बन्धित निर्णय आउन सक्ने अपेक्षाले बजारमा चासो उच्च बनेको छ । विशेषगरी नयाँ आर्थिक वर्षको बजेटले बजारलाई दीर्घकालीन रूपमा स्थायित्व र विस्तारतर्फ लैजान सक्ने आशामा लगानीकर्ताहरूले रणनीतिक रूपमा पोजिसन सम्हालिरहेको देखिन्छ ।
यसैबीच केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरू पक्राउ परेपछि केही समय बजारमा अनिश्चितता र दबाब देखिएको थियो । उक्त घटनाले अल्पकालीन रूपमा बिक्री चाप बढाए पनि पछिल्ला दिनमा त्यसको प्रभाव क्रमशः कम हुँदै गएको र बजार पुनः सन्तुलनतर्फ फर्किन थालेको विश्लेषण गरिएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक देखिएको छ । ब्याजदरमा आएको गिरावट, तरलता सहज हुँदै जानु तथा आर्थिक गतिविधिमा देखिएको सुधारको संकेतले आगामी दिनमा शेयर बजारलाई थप आधार मिल्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९९ अकंले बढेर २७८२.१० बिन्दुमा कायम भएको छ । आज ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन ९ उपसूचकमा हरियाली आएको छ भने ४ उपसूचक घटेको छ । आज १५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १०५ कम्पनीको घटेको छ । १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।













