वैदेशिक रोजगारीको नाममा करोडौँ ठगी: क्यानडा, अमेरिका, यूकेलगायत देश पठाइदिन्छु भन्ने ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने उदयपुर रौतामाई गाउँपालिका–४ घर भएका ४५ वर्षीय राम बहादुर आले मगर, गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिराहा लहान नगरपालिका–६ घर भएका ३२ वर्षीय आशिष कार्की, टोखा नगरपालिका–४ बस्ने ७९ वर्षीय लोक बहादुर श्रेष्ठ, सोही नगरपालिका–३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, काठमाडौं महानगरपालिका–२९ बस्ने पाल्पा तानसेन नगरपालिका–७ घर भएका ४८ वर्षीय कृष्ण प्रसाद पोखरेल र चन्द्रागिरी नगरपालिका–११ बस्ने २९ वर्षीय प्रबिन श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार राम बहादुरले क्यानडा पठाइदिन्छु भन्दै चार जना पीडितबाट ३९ लाख ५८ हजार रुपैयाँ, आशिषले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै तीन जना पीडितबाट १३ लाख रुपैयाँ, लोक बहादुरले युके पठाइदिन्छु भन्दै एक जना पीडितबाट १९ लाख रुपैयाँ, तुलसाले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ, कृष्ण प्रसादले युएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ र प्रबिनले सर्बिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो ।
उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । राम बहादुर र आशिषलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने लोक बहादुर, तुलसा, कृष्ण प्रसाद र प्रबिनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।












