१० महिनामा बीमा पोलिसी सरेण्डर रकम ११ अर्ब ६० करोड, नविकरण नगर्नेको संख्या १२ लाख २४ हजार

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम साढे ११ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको हो ।
उक्त सरेण्डर रकम गत आवको सोही अवधिसम्मको तुलनामा भने ५.४० प्रतिशत कम हो । गत आवको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट पोलिसी सरेण्डरमार्फत १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बाहिरिएको थियो ।
सरेण्डर रकमसँगै बीमालेख त्याग गर्नेको संख्या पनि गत आवको तुलनामा घटेको छ । गत आवको बैशाख मसान्तसम्ममा ८८ हजार ६३५ जनाले बीमालेख सपर्मण गरेकोमा चालु आवको सोहि अवधिमा भने ७६ हजार ४७७ जनाल मात्रै पोलिसी समर्पण गरेका छन् । यस हिसाबमा बीमालेख समर्पण संख्या १३.७२ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बीमकहरुमा व्यतित बीमालेख रकम (नविकरण नगरिएको रकम) भने ६.८३ प्रतिशतले बढेको छ । गत आवको बैशाख मसान्तसम्ममा बीमालेख नविकरण नगरिएको रकम ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँ रहेकोमा चालु आवको सो अवधिसम्म ३९ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

यता व्यतित बीमालेखको संख्या भने २.३९ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा १२ लाख २४ हजार ४६५ वटा बीमा पोलिसीहरु रिन्यू भएका छैनन् । गत आवको सोही अवधिसम्म यस्तो संख्या १२ लाख ५४ हजार ४७८ रहेको थियो ।












