फेसबुक–टिकटक मोनिटाइजेसनको नाममा ठगी बढ्दै, ओटीपी र पासवर्ड नदिन साइबर ब्यूरोको चेतावनी

१५ जेष्ठ २०८३, शुक्रबार १४:२३

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबुक तथा टिकटकमा मोनिटाइजेसन गरिदिने भन्दै आउने विज्ञापन र प्रस्तावमा विश्वास नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा सस्तो शुल्कमा र ग्यारेन्टीसहित मोनिटाइजेसन गरिदिने भन्दै विभिन्न विज्ञापनहरू फैलिन थालेपछि ब्यूरोले यस्तो चेतावनी जारी गरेको हो ।

ब्यूरोका अनुसार ह्याकर तथा अनधिकृत व्यक्तिहरूले फेसबुकको भेरिफिकेसन, सपोर्ट वा मोनिटाइजेसन सहायता गर्ने बहानामा फिसिङ लिङ्क पठाउने र प्रयोगकर्तासँग ओटीपी तथा पासवर्ड माग्ने क्रम बढेको छ । ओटीपी प्राप्त गरेपछि सामाजिक सञ्जालका पेज तथा च्यानलहरू कब्जा गर्ने घटना बढ्दै गएको ब्यूरोले जनाएको छ ।

यस्ता आक्रमणपछि सम्बन्धित प्रयोगकर्ताले आर्थिक तथा व्यक्तिगत रूपमा ठूलो क्षति बेहोर्नु परिरहेको पनि ब्यूरोले उल्लेख गरेको छ । मोनिटाइजेसनसम्बन्धी सबै प्रक्रिया आधिकारिक प्लेटफर्ममार्फत मात्र गर्नुपर्ने र Meta Business तथा YouTube Studio जस्ता आधिकारिक माध्यम प्रयोग गर्नुपर्ने ब्यूरोले स्पष्ट पारेको छ ।

साथै, कुनै पनि आधिकारिक कम्पनीले सामाजिक सञ्जालको पासवर्ड, रिकभरी कोड वा ओटीपी म्यासेजमार्फत नमाग्ने भएकाले यस्ता विवरण माग्ने व्यक्ति वा विज्ञापनलाई पूर्ण रूपमा शंकास्पद मान्नुपर्ने ब्यूरोको भनाइ छ ।

अपरिचित व्यक्ति वा विज्ञापनको प्रलोभनमा परेर आफ्नो गोप्य विवरण, ओटीपी वा अन्य संवेदनशील जानकारी कतै पनि सेयर नगर्न पनि ब्यूरोले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*