बजेट सुन्दा हामी उत्साहित छौँ, सरकारले हाम्रो माग सम्बोधन गरेको छः अध्यक्ष श्रेष्ठ

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले प्रस्तुत गरिएको आगामी बजेटले समग्र रूपमा धेरैजसो विषयलाई समेट्ने प्रयास गरेको जस्तो देखिएको बताएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटपछि सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले बजेटप्रति प्रारम्भिक रूपमा उत्साह देखिए पनि विस्तृत विवरण अध्ययन गर्न बाँकी रहेको स्पष्ट पारे।
उनले भने, ‘समग्र बजेट सुन्दा हामी उत्साहित छौँ। तर, डिटेल्स अझै हेर्न बाँकी नै छ। समग्र बजेट हेर्दा सरकारले सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ। डिटेल्समा त अझै गएको छैन।’
श्रेष्ठका अनुसार बजेटले विभिन्न क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरेको देखिए पनि त्यसको प्रभावकारिता र कार्यान्वयनका पक्षहरू विस्तृत अध्ययनपछि मात्र मूल्याङ्कन गर्न सकिने अवस्था छ।
उनले वर्तमान सरकार दुई तिहाइ बहुमतसहित बनेकाले विगतको तुलनामा बढी जिम्मेवार र गम्भीर रूपमा अघि बढ्ने अपेक्षा गरिएको पनि उल्लेख गरे। उनका अनुसार स्थिर सरकार भएकाले नीतिगत निरन्तरता र कार्यान्वयनमा सुधार आउने विश्वास निजी क्षेत्रले लिएको छ।












