काठमाडौँको जडीबुटी क्षेत्रमा चल्यो गोली

१७ जेष्ठ २०८३, आईतवार ११:०३

काठमाडौँ । काठमाडौँको जडीबुटी क्षेत्रमा प्रहरीको गोली लागेर लुटपाटमा संलग्न एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै गरेको कारबाहीमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा भएको मुठभेडमा कार्कीको बायाँ खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। घटनामा एक जना प्रहरी कर्मचारी पनि घाइते भएका छन्। घाइते प्रहरीको कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले शनिबार दिउँसो सुकेधारामा एक महिलामाथि लुटपाट भएको घटनाको अनुसन्धानका क्रममा कार्कीलाई खोजिरहेको थियो। कार्की र उनका एक सहयोगीले ती महिलाको आँखामा खुर्सानीको धुलो छर्केर सिक्री लुटेर फरार भएको आरोप छ।

लुटपाटमा संलग्न रहेको आरोपमा अर्का व्यक्ति विष्णु गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनापछि फरार रहेका उनीहरूलाई खोज्ने क्रममा प्रहरी टोलीसँग जडीबुटीमा जम्काभेट भएको र त्यसक्रममा कारबाही गरिएको प्रहरीको भनाइ छ।

प्रहरी स्रोतका अनुसार गोली लागेर घाइते भएका कार्की यसअघि डाँकाचोरी मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्। उनी गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका थिए। केही समयअघि कपन क्षेत्रमा प्रहरीमाथि समेत खुर्सानीको धुलो छर्केर भागेको घटनामा उनको संलग्नता रहेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*