आज देशभर बदली, केही स्थानमा पानी पर्ने

काठमाडौं । सोमबार देशका विभिन्न भूभागको मौसम सामान्य बदली रहने जल तथा मौमस विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराईको भूभागमा आंशिक बादल लाग्नेछ।
कर्णाली र सुदूरपश्चिम लगायत कोशी, बाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती देशको हिमाली भूभागमा साधारणतया, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभाग लगायत कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।











