बालेन्द्र शाहको अभिव्यक्तिपछि सुस्तामा हौसिदै नेपाल छिर्यो भारतीय एसएसबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिसँगै हौसिएको भारतीय सीमा सुरक्षा बल एसएसबी सीमाबाट नेपाल तर्फ छिरेको खवर नवलपरासीबाट प्राप्त भएको छ । नवलपरासीको सुस्तामा लामो समयदेखि नेपाल र भारतबीचको सीमा विवाद चल्दै आएको छ ।
संसदमा बालेन्द्र शाहले दिएको दिएको विवादस्पद अभिव्यक्ति केही घण्टामै एसएसबीको टोलीले सुस्तामा प्रवेश गरेर निर्माणाधिन १३२ मिटर लामो तटबन्ध तत्काल रोक्न भन्दै धम्क्याएका छन् । भारतपुर सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनामा सुरु गर्न लागिएको तटबन्द तत्काल रोक्न एसएसबीले धम्क्याएको हो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले घटनाको पुष्टी गर्दै यसअघि भइरहेको अर्को तटबन्धको काम जारी नै राख्न र नयाँ बनाउन लागिएको १३२ मिटरको तटबन्द तत्काल रोक्न भनेको बताए । प्रमुख जिल्ला अधिकारीका अनुसार दुई पक्षका अधिकारीहरुको बैठकबाट सहमतिमा मात्रै उक्त नयाँ निर्माण गर्न एसएसबीले आग्रह गरेको बताए ।
संसदको रोष्ट्रमबाट बालेनले आइतबार ‘भारतले मात्र होइन नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिब्यक्तिबाट हौसिएको एसएसबीको टोली नेपाली भूमिमा प्रवेश गरेको गरेर सुस्ता–५ स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माण गरिरहेको तटबन्धको काम रोक्न चेतावनी दिएर गएको हो । कटान र डुबानबाट सुस्ता बचाउन मन्त्रालयले करोडौं रुपैयाँ लगानी गरेर तटबन्ध निर्माण गरिरहेको छ । तर, उच्च तहबाटै गैरजिम्मेवार अभिब्यक्ति आएसँगै करिब ३०।३५ जना भारतीय सुरक्षाकर्मी आएर उक्त काम तत्काल रोक्न निर्माण कम्पनीलाई चेतावनी दिएर फर्किएको हो ।
एसएसबीको टोलीले सुस्ता गाउँपालिका ५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएपछि हाल काम स्थगन गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । बीमापोष्टसँग कुरा गर्दै उनले भने, ‘करिब साँझ ४–५ बजेको समयमा एसएसबी टोलि तटबन्ध क्षेत्रमा आयो । विवादीत जग्गा हो यो काम रोक्नु भन्यो । त्यो जग्गा राम्रो नै हो । तर, उनीहरुले विवादीत जग्गा भन्दै रोक्न भनेपछि अहिले काम रोकिएको छ ।’
उनीहरु हातहतियारसहित आएर सो क्षेत्रमा काम रोकेर गयो अब सुस्ता गाउँ पुरै बाढीको खतरा पर्ने अध्यक्ष उपाध्यायले बताए । ‘यदि १० जगा क्षेत्र भन्ने हो भने पनि त्यो पनि होइन । त्यो भुमि नेपालकै हो । तर, हिजो हातहतियारसहित आएर काम रोक्न भन्यो । त्यो काम रोक्नु नै परो । अब सुस्ता गाउँ बाढीको जोखिममा गर्ने भयो । हेरै अब के हुन्छ छलफल’ उपाध्यायले भने ।

नेपाल–भारत सीमा विवाद दशकौँदेखि संवेदनशील विषय रहँदै आएको छ । सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रहरूमा नेपालले ऐतिहासिक दस्तावेज, नक्सा र सन्धिहरूका आधारमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यस्ता विषयमा नेपालका प्रधानमन्त्री, मन्त्री वा जिम्मेवार पदाधिकारीबाट आउने प्रत्येक अभिव्यक्तिलाई कूटनीतिक रूपमा अत्यन्त महत्वका साथ हेरिन्छ । त्यसैले राष्ट्रिय सार्वभौमसत्ता र सीमासम्बन्धी विषयमा अभिव्यक्ति दिँदा अत्यन्त सावधानी अपनाउनुपर्ने मान्यता रहँदै आएको छ । तर, प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति अहिले विवादको केन्द्रमा पुगेको छ। नेपालको भूमि सम्बन्धी विवादित विषयमा प्रधानमन्त्री तहबाट ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने खालको अभिव्यक्ति आउनु केवल व्यक्तिगत धारणा नभई राज्यको धारणा हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धमा शब्दको ठूलो महत्व हुने भएकाले यस्ता अभिव्यक्तिले नेपालको आधिकारिक अडान कमजोर बनाउने खतरा रहेको छ ।











