प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै सरकारका प्रवक्ता, ‘नेपालले भारतको भूमि मिचेको भन्नुभएको होइन’

१९ जेष्ठ २०८३, मंगलवार १३:५५

काठमाडौँ । प्रधानमन्त्रीको अभिव्यक्तिमाथि उठेको विवादबारे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको बचाउ गरेका छन्। मन्त्रिपरिषद् बैठकपछि आयोजित प्रेस ब्रिफिङमा उनले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशय व्यक्त नगरेको दाबी गर्दै उनको भनाइलाई गलत ढंगले व्याख्या गरिएको बताएका हुन्।

पत्रकारहरूले संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रश्न उठाएपछि मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयले यस विषयमा आवश्यक स्पष्टीकरण दिइसकेको बताए। नेपाल–भारतबीच सीमा विवाद समाधानका लागि विभिन्न संयन्त्रहरू पहिलेदेखि नै सक्रिय रहेको स्मरण गराउँदै उनले ती संयन्त्रमार्फत सीमा सम्बन्धी विषयहरू समाधान गर्नुपर्ने धारणा प्रधानमन्त्रीले राखेको बताए।

उनले नेपाल र भारत दुवैले एकअर्कालाई कूटनीतिक नोट पठाउने अभ्यास रहेको उल्लेख गर्दै सीमा विवादहरू वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्ने प्रधानमन्त्रीको धारणा रहेको बताए।

पत्रकारले नेपालले भारतको सीमा मिचेको प्रमाण के हो भन्ने प्रश्न गरेपछि पोखरेलले सीमा विवाद समाधानको प्रक्रियामा अर्को पक्षबाट पनि नेपालले सीमा अतिक्रमण गरेको दाबी आएको प्रसंगमा प्रधानमन्त्रीले आफू अचम्मित भएको अभिव्यक्ति दिएको स्पष्ट पारे। उनका अनुसार कतिपय स्थानमा भारतले उपयोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले उपयोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने विषय सम्बन्धित संयन्त्रहरूबाट उठेका कारण दुवै देशले बसेर विवाद समाधान गर्नुपर्ने आवश्यकता प्रधानमन्त्रीले औंल्याएका हुन्।

‘प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको छैन । यस्तो कुरा आयो, म अचम्ममा परेँ भन्नुभएकोमा यसलाई विवाद… एकचोटि फेरि सुन्नुहोला ।’ उनले भने ।

यसअघि संसद् बैठकमा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि विभिन्न स्थानमा भारतको भूमि मिचेको विषयबारे जानकारी पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक तथा सार्वजनिक वृत्तमा व्यापक बहस र आलोचना भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*