बार एशोसिएशनद्वारा प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति गम्भीर आपत्ति, राष्ट्रिय हितविपरीत भएको ठहर

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री बालेन शाहले हालै प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एशोसिएशनले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री शाहले व्यक्त गरेको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेको छ। जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तरका क्रममा व्यक्त धारणा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई कमजोर बनाउन सक्ने भन्दै उसले गम्भीर रूपमा लिएको छ।
महासचिव केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भूमि, सीमा र राष्ट्रिय स्वाधीनता सम्पूर्ण नेपालीको साझा विषय भएको उल्लेख गर्दै यस्तो संवेदनशील मुद्दामा संसद जस्तो गरिमामय स्थानमा आएको अभिव्यक्ति अपरिपक्व र गैरजिम्मेवार भएको ठहर गरिएको छ।
एशोसिएशनले ऐतिहासिक तथ्य, प्रमाण, नाप–नक्सा र सन्धि–सम्झौताका आधारमा सीमा विवादको समाधान खोजिनुपर्नेमा जोड दिँदै हठात् र भावनात्मक टिप्पणीले विषयलाई थप जटिल बनाउन सक्ने चेतावनी दिएको छ।
प्रधानमन्त्री शाहले ‘नेपालले पनि सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिलाई बारले हल्का टिप्पणी र राष्ट्रिय हित विपरीतको कार्यका रूपमा लिएको उल्लेख छ। नदीको धार परिवर्तन वा खेतीयोग्य जमिनका कारण हुने प्राविधिक ‘क्रस होल्डिङ’ लाई राज्यस्तरको रणनीतिक भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने भन्दै यस प्रकारका विषयमा कूटनीतिक र प्राविधिक समझ आवश्यक रहेको बारले जनाएको छ।
एशोसिएशनले आगामी दिनमा राष्ट्रिय हित र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकारलाई तथ्यपरक, स्पष्ट र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेको छ। साथै, नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने विषयमा सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ।












