पुँजी बजार दोहोरो अकंले बढ्योः फाइनान्सका लगानीकर्ताले कमाए सर्वाधिक, अझै किन छ त्रसित अवस्था ?

१९ जेष्ठ २०८३, मंगलवार १५:०४

काठमाडौँ । आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक भएपछि राताम्य भएको शेयर बजारमा आज भने सुधार देखिएको छ । हिजो राताम्य भएको बजार आज दोहोरो अंकले बढ्दै हरियालीतर्फ फर्किएको हो । पहिलो कारोबार दिनमै देखिएको गिरावटपछि लगानीकर्ताको मनोबल कमजोर बनेको अवस्थामा आजको सुधारलाई बजारले ‘टेक्निकल रिकभरी’ का रूपमा पनि हेरिएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले अर्थशास्त्री पृष्ठभूमिका भए पनि उनी अर्थमन्त्रीमा नियुक्त भएयता पूँजी बजार अपेक्षाकृत सुस्त गतिमा अघि बढिरहेको छ । बजेटपछि पनि बजारले स्थायित्व पाउन नसक्दा लगानीकर्तामा निरन्तर अनिश्चितता र असन्तुष्टि देखिँदै आएको छ । नीतिगत संकेतहरू स्पष्ट नहुँदा बजारले दिशा लिन नसकेको विश्लेषण गरिएको छ ।

बजेटमा सूचीकृत कम्पनीको धितोपत्र बिक्रीमा लाग्दै आएको पुँजीगत लाभकर सम्बन्धी व्यवस्थाले सुरुमा लगानीकर्तालाई केही राहत दिएको भए पनि कर सीमा बढेसँगै उत्पन्न अस्पष्टताले पुनः अन्योल बढाएको छ । यही अन्योलका कारण बजारमा बिक्री दबाब बढ्दै गएको र लगानीकर्ताले सुरक्षित निकास खोज्न थालेको देखिन्छ । साउनदेखि नयाँ कर नीति लागू हुने आशंकाले समेत बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ ।

त्यसैगरी शेयर कर्नरिङ र इन्साइडर ट्रेडिङजस्ता अनियमित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति, विदेशी धितोपत्र बजारमा सूचीकृत हुन ग्लोबल डिपोजिटरी रिसिट (न्म्च्) जारी गर्ने व्यवस्था तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने जस्ता दीर्घकालीन सुधारका प्रावधान बजेटमा समेटिएका छन् । तर यस्ता संरचनागत सुधारले तत्काल बजारमा विश्वास फर्काउन नसकेको देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२१ अकंले बढेर २७७७.५८ बिन्दुमा कायम भएको छ । आज ३४६ कम्पनीको १ करोड १३ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो ।

आज फाइनान्सको शेयर मूल्य सर्वाधिक बढेको छ । यसदिन फाइनान्स समूहको शेयर मूल्य मात्रै ६.०३ प्रतिशतले बढेको हो । साथै, अन्य ११ कम्पनीको शेयर मूल्यमा समेत सुधार देखिएको छ ।

मंगलबार १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*