भारतले भन्यो: ‘नेपाल–भारत सीमा विवादमा तेस्रो पक्ष स्वीकार्य छैन’

काठमाडौं । भारतले नेपाल–भारत सीमा विवादलगायत द्विपक्षीय विषयमा कुनै पनि तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट गरेको छ। भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै सीमा सम्बन्धी विषयहरू समाधानका लागि दुई देशबीच स्थापित द्विपक्षीय संयन्त्र नै पर्याप्त रहेको बताएका हुन्।
विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै जैशवालले भारत र नेपालबीचका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका नहुने बताए। उनले सीमा सम्बन्धी बाँकी रहेका विषयहरू समाधान गर्न दुवै देशबीच विभिन्न संयन्त्रहरू सक्रिय रहेको उल्लेख गरे।
‘भारत–नेपाल सीमाको करिब ९८ प्रतिशत भाग सीमांकन भइसकेको भए पनि केही खण्डहरू अझै समाधान हुन बाँकी छन्। गण्डक नदीको बहावको दिशा परिवर्तन भएका कारण यस्तो अवस्था उत्पन्न भएको हो’ प्रवक्ता जैशवालले भने ।
उनले नेपालका प्रधानमन्त्रीले संसद्मा नेपाल–भारत सीमाका विषयमा गरेको टिप्पणी तथा त्यसपछि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्य भारतले ध्यानपूर्वक अध्ययन गरेको पनि बताए।
प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा नेपाल–भारत सीमा विवादको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै यो विषय तत्कालीन ब्रिटिस सरकारसँग भएको सुगौली सन्धिसम्म जोडिने भएकाले आवश्यक परे बेलायतसँग पनि संवाद गर्नुपर्ने अवस्था आउन सक्ने धारणा व्यक्त गरेका थिए। साथै उनले नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको हुन सक्ने टिप्पणी गरेका थिए।












