महानगर यातायातमा थपिए १२ विद्युतीय बस, एकैपटक ७० यात्रुले गर्न सक्नेछन् यात्रा

काठमाडौँ । महानगर यातायातले बुधबारदेखि थप १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ। सार्वजनिक यातायात सेवामा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएका यी बसहरू ३३ सिट क्षमताका छन्। उभिएर यात्रा गर्ने यात्रुसहित एकैपटक करिब ७० जनासम्मले यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।
शशिला मोटर्स प्रालिद्वारा चीनबाट आयात गरिएका यी बसहरूमा १४४ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ। एकपटक पूर्ण चार्ज गरेपछि करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्ने बसको बजार मूल्य प्रतिगाडी १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको बताइएको छ।
यसअघि पनि महानगर यातायातले गत वर्ष १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो। नयाँ बसहरूको शुभारम्भ कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले विद्युतीय सवारी साधन भविष्यको आवश्यकता भएको उल्लेख गर्दै आगामी दिनमा सेवा थप विस्तार गर्ने योजना रहेको बताए।












