लामिछानेसँगे भेटपछि भारतीय प्रधानमन्त्री मोदीले भनेः ‘नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छु’

२० जेष्ठ २०८३, बुधबार १५:५५

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि उनले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मा करिब एक घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गरेका छन् ।

लामिछानेले नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिएको बताएका छन् ।

उनले प्रधानमन्त्री मोदीको दृष्टिकोणसँग आफू सहमत रहेको उल्लेख गर्दै साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा सहज र निर्बाध सम्पर्क विस्तारमार्फत दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन सकिने धारणा राखेका छन् ।

सभापति लामिछानेले नेपाल–भारत साझेदारीलाई प्रगति र पारस्परिक विश्वासमा आधारित बनाउने सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ती सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् ।

भेटवार्तामा रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य दीपक बोहरा, भारतका विदेशमन्त्री डा. एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतको सहभागिता रहेको रास्वपाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*