भावी प्रभानमन्त्रीको रूपमा रवि लामिछानेलाई दिल्लीमा भव्य स्वागत

२० जेष्ठ २०८३, बुधबार १७:५४

काठमाडौं । पाँचदिने भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेलाई दिल्लीले भावी प्रधानमन्त्रीको रूपमा भव्य स्वागत गरेको छ । भारतले लामिछानेलाई भविष्यका प्रधानमन्त्रीकै झल्को दिने गरी उच्चस्तरको भेटघाट र स्वागत गरिरहेको हो ।

भारत भ्रमणका क्रममा उनलाई गरिएको स्वागतलाई साधारण राजनीतिक भेटघाटभन्दा फरक ढंगले हेरिएको छ । भारतले यसअघि सामान्यतया प्रधानमन्त्रीस्तरका भ्रमणमा मात्रै देखाउने भव्य प्रोटोकल र आतिथ्य शैली यस पटक रास्वपाका सभापति लामिछानेप्रति देखिएको छ ।

सत्तारुढ भाजपाको निमन्त्रणामा सोमबार भारत प्रस्थान गरेका लामिछानेले मंगलबारदेखि आफ्नो औपचारिक राजनीतिक भेटघाट सुरु गरेका हुन् । लामिछानेलाई मंगलबार भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ । रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका थिए । भाजपा कार्यालयमा भएको भेटमा भाजपा नेतृत्वसँग लामिछानेले पार्टी संरचना, संगठनात्मक अभ्यास तथा राजनीतिक कार्यशैलीबारे जानकारी लिएका थिए । त्यस क्रममा उनी भाजपाका शीर्ष नेताहरूसँग पनि संवादमा सहभागी भएका थिए ।

भ्रमणकै क्रममा मंगलबार नै उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर र गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेट गरेका थिए । भारतका उच्च तहका ब्यक्तिहरुसँग रविको भेटलाई निकै अर्थपूर्ण रुपमा हरिएको छ । जयशंकर र अमित शाह दुबै जना भारतका भावि प्रधानमन्त्रीका रुपमा हेरिएका ब्यक्ति हुन् ।

त्यस्तै बुधबार लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितको उच्चस्तरीय भेटवार्ता भएको छ । भेटमा भारतीय विदेश मन्त्री डा एस जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल पनि सहभागी भएका थिए ।

करिब एक घण्टासम्म चलेको उच्चस्तरीय वार्तालाई विशेष महत्वका साथ विश्लेषण गरिएको छ । भेटवार्तामा नेपालको तर्फबाट रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा लगायत सहभागी थिए ।

भेटपछि सभापति लामिछानेले उक्त छलफललाई अत्यन्त उपयोगी र फलदायी भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने, पुराना सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्ने विषयमा केन्द्रित संवाद भएको थियो । भेटपछि मोदीको एक्स (ट्विटर) पोस्टलाई शेयर गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो । सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्य, रास्वपाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् । उनले नेपाली समुदाय र समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भारत बसाइका क्रममा उनले अयोध्या भ्रमण समेत गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*