शेल कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गर्ने ओमप्रसाद पाण्डे पक्राउ

२० जेष्ठ २०८३, बुधबार १८:५५

काठमाडौँ । शेल कम्पनी स्थापना गरी प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा दुरुपयोग गर्ने राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार धनुषाबाट पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–९ रातोपुल बस्ने पाण्डे राम जानकी हेल्थ फाउन्डेसनको सञ्चालक समितिका अध्यक्ष हुन्।

सीआईबीका अनुसार पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्रालि’ नामक शेल कम्पनी स्थापना गरेका थिए। सोही कम्पनीका एकल सञ्चालक समेत रहेका उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना तथा धितोको अस्वाभाविक रूपमा उच्च मूल्याङ्कन गराई प्रभु बैंकबाट कर्जा लिएको आरोप छ।

ब्युरोका अनुसार उनले बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिएका थिए, सोही उद्देश्यमा प्रयोग नगरी अन्यत्र खर्च गरेका थिए। साथै पटक–पटक कर्जाको दुरुपयोग गर्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उच्च अदालत पाटन, ललितपुरबाट २०८२ मङ्सिर २८ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पाण्डेलाई सीआईबीको टोलीले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*