चुहियो कर बढ्ने सूचना, अर्थमन्त्रीमाथि छानविनको माग, राजिनामा कहिले ?

२१ जेष्ठ २०८३, बिहीबार १५:२४

काठमाडौं । यस बर्ष पनि भन्सार दर बढाउन लागेको भन्ने सूचना चुहिएको पाइएको छ । विद्युतीय सवारी साधनमा ठूलो मात्रामा भन्सार दर बृद्धि हुन लागेको थाहा पाएसँगै बिवाईडीले भन्सार नाकामा नआउँदै प्रज्ञापन पत्र बनाएर भन्सार तिरी सकेको काण्ड पर्दाफाससँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बनाउँदै गरेको बजेट सम्बन्धी सूचना चुहिएको तथ्य खुलेको हो ।

कर बृद्धि हुने सूचना व्यापारीलाई चुहाएर रातारात करोडौंको गाडी आयात भएको चाल पाएसँगै अर्थमन्त्री डा. वाग्लेमाथि कारवाहीको माग गरिएको छ । नेकपा एमालेका नेता पदम गिरीले कर सम्बन्धी सूचना चुहिनुमा अर्थमन्त्री दोषी हुने बताउँदै तत्काल छानविनको माग गरेका छन् । नेपाली कांग्रेसका नेता अजयबाबु सिवाकोटीले अर्थमन्त्री स्वर्णिम वाग्लेको विद्धतामाथि शंका गर्ने ठाउँ नभए पनि करका दरहरु जसरी हेरफेर गरिए त्यसले उहाँको नैतिकता र इमान्दारिताको छानविन गर्नैपर्ने बताए । शिवाकोटीले भने, ‘मैले पाएको सूचना अनुसार उहाँले छ पटक करका दरहरु हेरफेर गर्नु भएको भन्ने तथ्य आएको छ । इतिहासमै यस्तो घटना पहिलो पटक भएको छ । उहाँको विद्धतामाथि शंका गर्ने ठाउँ त छैन र जसरी करका दरहरु हेरफेर गरेर संसदमा एकाथरी, अर्थमन्त्रालयमा अर्कोथरी बजेट बनाउने कार्य अनैतकि हो । पहिला राति राति करको दर हेरफेर भएको भनेर राजिनामा दिनु परेको थियो । अहिले पनि उहाँले नैतिकता देखाउनुपर्छ ।’

उता, कर सुचना चुहिएको तथ्य बाहिर आएपछि अहिले अर्थमन्त्री स्वर्णिम वाग्ले आपतकालिन छलफलमा जुटेका छन् । कर सुचना चुहिएको सम्बन्धमा गम्भिर छलफल भइरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार तातोपानी भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय र मुस्ताङ भन्सार कार्यालयबाट जेठ १४ गते भन्दा अघि राजस्व लिएर जेठ १५ पछि मात्रै गडी छुटाएको समाचार बाहिर बीमापोष्ट र कर्मचारी प्रेसले ब्रेक गरिसकेका छन् ।

समाचार स्रोतका अनुसार अर्थमन्त्री वा निजको नजिकको पात्रले बिवाईडीका साइमेक्स इंककी अध्यक्ष यमुना श्रेष्ठसँगको गोप्य साँठगाँठमा करका दर हेरफेर सम्बन्धी सूचना चुहिएको हो । करको दर उच्च अंकले बृद्धि हुन लागेको सूचना पाएर बिवाईडी ब्राण्डका कूल ४६५ वटा गाडी बिना नै कागजात मात्रैको भरमा जेठ १३ र १४ गते रातारात भन्सार गरिएको थियो । नेपालस्थित भन्सार यार्डमा गाडी नआउँदै ति गाडीहरुको भन्सार तिरिएको थियो । रसुवा नाकाबाट करिब २०० वटा बिवाईडी गाडीहरुको भन्सार गाडी भन्सारको यार्डमा नआउँदै प्रज्ञापन पत्र बनाएर भन्सार तिरिएको थियो भने मुस्ताङको केरला नाकाबाट ३०० वटा गाडीहरुको कागजात मात्रैका आधारमा भन्सार तिरेर छुटाउन तयारी अवस्थामा राखिएको थियो । जबकी सो समयमा ति गाडीहरु चीनको सडक हुँदै नेपालतर्फ आउँदै थिए । बीमापोष्टलाई अर्थकै एक अधिकारीले भने ‘एउटा सामान्य कर्मचारी वा भन्सार प्रमुखले यति ठूलो काम एक्लैले गर्नै सक्दैन ।’

चीनबाट आउँदै गरेको गाडीहरुको मिलाएर भन्सार तिरिएको बिषयलाई अर्थमन्त्री, भन्सार प्रमुख वा सरकारकै उच्च तहका व्यक्तिहरुको संलग्नता छैन भनेर विश्वास गर्न सकिने अवस्था छैन । करका दरसम्बन्धी सूचना चुहिएको मात्रै नभई बजेट बक्तव्यदेखि आर्थिक विधेयक सम्ममा गम्भिर त्रुटीहरु भेटिएका छन् । हालसम्म आर्थिक विधेयकमा ९ पृष्ठ भन्दा बढी विवरणहरु हटाइसकेको छ ।

नेपालमा हरेक बजेटमा यस्तो खेल सधैं भइनै रहन्छ । पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तै सेटिङ गरेका थिए । पौडेलेले करको दर बृद्धि नगर्ने सूचना बीवाईडी आयात गर्ने साइमेक्स इंकलाई दिएका थिए । सोही सूचनाको आधारमा बिवाईडीले बजेट अघि गाडी आयात गरेन भने अन्य कम्पनीहरु भने कर बढ्ने भयले भन्दै धेरै गाडी आयात गरेर बिक्री नभई फस्न पुगेका थिए ।

अब नयाँ अर्थमन्त्री, सुशासन र जनतालाई पारदर्शीको नारा दिएर दुई तिहाई बहुमत लिएको सरकारका अर्थमन्त्रीमाथि गम्भिर नैतिक प्रश्न उठेको छ । राजिनामा नदिन कर्मचारीलाई देखाउँछन् वा नैतिकताका आधारमा तत्कालै राजिनामा दिन्छन् त्यो भने हेर्न बाँकी छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*