अब जग्गासम्बन्धी सबै सेवा घरमै, ‘मेरोकित्ता’ एपले नापी सेवा बनायो डिजिटल

काठमाडौं । नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका मन्त्री प्रतिभा रावल को उपस्थितिमा एप सार्वजनिक गरिएको हो। एपमार्फत नागरिकले जग्गासम्बन्धी विभिन्न सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्।
नापी विभागका अनुसार उक्त एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ। प्रयोगकर्ताले प्ले स्टोर र एप स्टोरबाट एप डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।
एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले आफ्नो मोबाइल नम्बर र ओटीपी प्रयोग गरी आवेदनको अवस्था नियमित रूपमा अनुगमन गर्न सक्नेछन्।
यसैगरी ई-सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व भुक्तानी गर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनमार्फत भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ‘मेरोकित्ता’ सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ।












