दूषित खानाबाट विश्वभर वार्षिक १५ लाखको मृत्यु, ८८ करोडभन्दा बढी बिरामी

२२ जेष्ठ २०८३, शुक्रबार १२:०३

काठमाडौँ । हानिकारक ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थले दूषित खाद्य वस्तुका कारण विश्वभर प्रत्येक वर्ष करिब १५ लाख मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । विशेषगरी पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी दूषित खाद्यबाट प्रभावित हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।

विश्व स्वास्थ्य संगठनले सन् २००० देखि २०२१ सम्मका १९४ देशका तथ्याङ्कको विश्लेषणपछि सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रत्येक वर्ष करिब ८८ करोड ६० लाख मानिस असुरक्षित खाद्य पदार्थ सेवनसँग सम्बन्धित विभिन्न रोगबाट प्रभावित हुने गरेका छन् । प्रतिवेदनमा पाँच वर्षमुनिका बालबालिका अन्य उमेर समूहका व्यक्तिको तुलनामा झण्डै तीन गुणा बढी जोखिममा रहेको उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले खाद्य सुरक्षा कुनै सैद्धान्तिक वा अमूर्त विषय नभई हरेक भोजन, हरेक परिवार र हरेक दिनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएका छन् ।

प्रतिवेदनअनुसार सन् २००० को तुलनामा असुरक्षित खाद्य पदार्थका कारण हुने रोगको समग्र अवस्था केही सुधारिए पनि विभिन्न क्षेत्रबीचको असमानता अझै गम्भीर रहेको छ । विशेषगरी अफ्रिका र दक्षिणपूर्वी एसियामा खाद्यजन्य रोगको भार अत्यधिक रहेको पाइएको छ । अफ्रिका र दक्षिणपूर्वी एसिया क्षेत्रमा मात्रै विश्वभर हुने खाद्यजन्य रोगका करिब तीन चौथाइ घटना तथा कुल मृत्युको ६० प्रतिशत हिस्सा रहेको प्रतिवेदनले देखाएको छ ।

सन् २०२१ मा मात्रै करिब ८६ करोड खाद्यजन्य रोगका घटना जैविक जोखिमका कारण भएको पाइएको छ । ब्याक्टेरिया, भाइरस तथा अन्य सूक्ष्म जीवाणुजन्य प्रदूषण खाद्यजन्य रोगको प्रमुख कारण बनेका छन् ।

यद्यपि रासायनिक पदार्थका कारण हुने रोगको संख्या तुलनात्मक रूपमा कम भए पनि मृत्यु दर भने उच्च रहेको प्रतिवेदनमा उल्लेख छ । विशेषगरी आर्सेनिक र सिसाजन्य विषाक्तता गैर–जैविक कारणमध्ये प्रमुख घातक कारकका रूपमा देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनका खाद्य सुरक्षा प्राविधिक अधिकृत युकी मिनाटोका अनुसार खाद्यजन्य रोगहरू अझै पनि विश्वव्यापी रूपमा चुनौतीका रूपमा कायम रहेका छन् । जलवायु परिवर्तनका कारण खाद्य पदार्थमा प्रदूषणको जोखिम बढ्दै गएको तथा प्रतिजैविक प्रतिरोधी क्षमता विस्तार हुँदै जाँदा संक्रमणको उपचार झन् कठिन बन्दै गएको उनले बताएका छन् ।

स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावसँगै खाद्यजन्य रोगले विश्व अर्थतन्त्रमा पनि ठूलो क्षति पु-याइरहेको प्रतिवेदनले देखाएको छ । सन् २०२१ मा मात्रै यस्ता रोगका कारण उत्पादकत्वमा आएको गिरावटबाट विश्व अर्थतन्त्रले करिब ६४७ अर्ब अमेरिकी डलर बराबरको क्षति बेहोरेको अनुमान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*