बीमा प्राधिकरणको स्वीकृति बिना ११ कम्पनीद्वारा शेयर बजारमा लगानी

काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट आवश्यक अनुमति नै नलिई ११ वटा बीमक तथा सहायक कम्पनीहरूले सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूको शेयरमा लगानी गरेको पाइएको छ । काठमाडौँ जिल्ला अदालतमा पेश भएको अभियोग पत्रमा उक्त कुरा उल्लेख गरेको हो ।
बीमा प्राधिकरणबाट २०७९ मंसिर २० मा जारी भएको लगानी निर्देशनअनुसार बीमकहरूले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा कुल लगानीको बढीमा १० प्रतिशतसम्म मात्र लगानी गर्न पाउने व्यवस्था रहेको थियो । सो निर्देशनलाई २०८० पुष ५ मा संशोधन गर्दै जीवन, निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकहरूको हकमा तोकिएको सीमा नाघेर लगानी गर्नु अघि प्राधिकरणको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था थप गरिएको थियो ।
तर सो व्यवस्था कार्यान्वयनको क्रममा हिमालयन रिइन्स्योरेन्स लिमिटेड, हिमालयन इन्भेष्टमेण्ट बैंकर, हिमालयन क्यापसर्भ लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, हिमालय सेक्युरिटिज बैंकर, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन इन्भेष्टमेण्ट बैंकरद्वारा सञ्चालन गरिएको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड लगायत गरी ११ वटा बीमक तथा सहायक कम्पनीहरूले धितोपत्र बजारमा लगानी गर्न प्राधिकरणबाट आवश्यक अनुमति नलिएको तथ्य देखिएको छ ।
उक्त तथ्यसँग सम्बन्धित अनुसन्धानका क्रममा यी संस्थाहरूले लगानी सीमा र स्वीकृतिको कानुनी व्यवस्थालाई बेवास्ता गर्दै योजनाबद्ध रूपमा शेयर बजारमा रकम प्रवाह गरेको देखिएको छ । विशेषगरी बीमकको कोषको रकम बीमक तथा बीमितहरूको हित विपरीत प्रयोग गरी निश्चित व्यक्तिहरूको लाभका लागि परिचालन गरिएको आरोप समेत उठेको छ ।
अनुसन्धान विवरणअनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडले लगानी सीमा पहिले नै नाघिसकेको अवस्थामा समेत भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेडमार्फत थप शेयर खरिदका लागि रकम उपलब्ध गराएको देखिन्छ । यसरी कानुनी सीमा र पूर्वस्वीकृति विना रकम प्रवाह गरिएको र त्यसबाट निश्चित समूहको स्वार्थअनुसार सेयर खरिद–बिक्री भएको दाबी गरिएको छ ।
सो क्रममा दीपक भट्ट र शुलभ अग्रवालका नाममा शेयर खरिद गर्ने उद्देश्यले बीमकको कोषबाट रकम ब्रोकर खातामा जम्मा गरिएको र सोही रकम प्रयोग गरी बजारमा शेयर कारोबार गरिएको देखिएको अनुसन्धान निष्कर्षमा उल्लेख छ । बीमकको कोषलाई संस्थागत हितभन्दा बाहिर प्रयोग गरी व्यक्तिगत लाभका लागि प्रयोग गरिएको आरोप पनि लगाइएको छ ।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले आफू नेतृत्वमा रहेको संस्थाको कोषको दुरुपयोग हुने वातावरण तयार पार्दै व्यक्तिगत रूपमा पनि ठूलो रकम ब्रोकर खातामा जम्मा गरेको देखिएको छ । सो रकम शेयर बजारमा चलखेल गर्न तथा नेपाल रिइन्स्योरेन्सको सेयरमा नियन्त्रण कायम गर्ने योजनासँग सम्बन्धित रहेको दाबी गरिएको छ ।
अनुसन्धान प्रतिवेदनअनुसार शुलभ अग्रवाल र दीपक भट्टको नेतृत्वमा एक समूह गठन गरी विभिन्न बीमक तथा सम्बन्धित कम्पनीहरूको सेयर खरिद–बिक्री र सेटलमेन्टसम्बन्धी निर्णयहरू स्वतन्त्र रूपमा नभई उनीहरूको निर्देशनअनुसार हुने गरेको उल्लेख छ । सम्बन्धित संस्थाहरूको डिम्याट तथा कारोबार प्रणाली समेत ब्रोकर नम्बर ५५ भृकुटी स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेडमा केन्द्रित गरिएको र त्यही माध्यमबाट रकम परिचालन गरिएको देखिएको छ ।
यस्तो प्रक्रियाबाट नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरूको सेयर मूल्य प्रभावित पार्ने, आपूर्ति नियन्त्रण गर्ने र बजारमा प्रतिस्पर्धा सीमित गर्ने प्रयास गरिएको आरोप समेत लगाइएको छ । यसरी योजनाबद्ध रूपमा सेयर कर्नरिङ गर्ने, बजार मूल्यमा कृत्रिम उतारचढाव ल्याउने र निश्चित समूहलाई लाभ हुने वातावरण बनाइएको दाबी गरिएको छ ।
बीमा प्राधिकरणको निर्देशन विपरीत गरिएको यस्तो लगानी, सीमा उल्लङ्घन र पूर्वस्वीकृति नलिई गरिएको रकम प्रवाहलाई गम्भीर नियामकीय उल्लङ्घनको रूपमा लिँदै धितोपत्र सम्बन्धी ऐन बमोजिम कसूर भएको निष्कर्ष निकालिएको छ। साथै बीमकको कोष दुरुपयोग गरी लगानीकर्ताको हित विपरीत कार्य गरिएको र संगठित रूपमा बजारमा प्रभाव पार्ने प्रयास गरिएको आरोप पनि प्रतिवेदनमा उल्लेख छ ।












