निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२९ जेष्ठ २०८३, शुक्रबार १८:२८

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले उनलाई जिल्ला अदालत काठमाडौँमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो ।

बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको उल्लेख गरिएको छ । पाण्डेले सुलभ अग्रवाल र दीपक भट्टसँग मिलेर लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सभित्र विभिन्न काम–कारबाही गरेको आरोप लगाइएको छ ।

पाण्डे नेतृत्व गरेको कालिका कन्स्ट्रक्सनले देशका विभिन्न ठूला पूर्वाधार परियोजनामा काम गर्दै आएको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेका छोरा पनि हुन् । उनी निर्माण व्यवसायी महासंघको अध्यक्षमा २०८२ चैतमा निर्वाचित भएका थिए ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड नेपाल बीमा प्राधिकरणबाट लघु जीवन बीमा व्यवसाय गर्न अनुमति प्राप्त संस्था हो । कम्पनीले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य प्रभावित पार्ने र बढाउने कार्य गरेको देखिएको आरोपसमेत लगाइएको छ । यसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को खण्ड (क) बमोजिमको कसुर भएको निष्कर्ष निकालिएको छ ।

त्यसैगरी, आरोपित व्यक्तिहरूले आपसमा मिलेर लगानीकर्ता तथा समग्र धितोपत्र बजारलाई झुक्याउने र योजनाबद्ध कारोबार गर्ने कार्य गरेको देखिएकाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको कसुरसमेत भएको दाबी गरिएको छ । यस प्रकरणमा लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका तत्कालीन पदाधिकारीहरू निकोलस पाण्डे, बलराम खत्री, मनिष तिमिल्सिना, नेहा अग्रवाल, आसीस सिंह, रामकुमार यादव र देवेन्द्र धिताल तथा सम्बन्धित कम्पनीहरू संलग्न रहेको उल्लेख छ । उनीहरूले मिलेमतोमा झुटा कारोबार गरी कम्पनीलाई ९९ लाख रुपैयाँ बराबरको हानी नोक्सानी पुर्‍याएको दाबीसमेत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*