सर्भे क्षेत्र बलियो नभए निर्जीवन बीमा क्षेत्रमै संकट आउँछ: कार्यकारी निर्देशक सुवेदी

३१ जेष्ठ २०८३, आईतवार १८:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुशीलदेव सुवेदी ले बीमा सर्भेयरहरूले आफ्नो पेशाको संरक्षण, सम्मान र सुदृढीकरणका लागि स्वयं अग्रसर हुनुपर्ने बताएका छन्। नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) ले आयोजना गरेको ‘विद्युतीय सवारी (ईभी) बीमा दाबी विवाद व्यवस्थापनः वर्तमान चुनौती र उदीयमान प्रवृत्तिहरू’ विषयक कार्यक्रममा बोल्दै उनले पेशागत मर्यादा कायम राख्दै आर्थिक रूपमा सबल बनाउन सबै सरोकारवालाले संयुक्त रूपमा काम गर्नुपर्ने बताए।

उनले, ‘बीमा प्राधिकरण सहकार्य गर्न तयार रहेको छ। आफ्नो पेशाको रक्षा गर्ने पहिलो जिम्मेवारी आफ्नै हो। हामी जुन पेशामा छौं, त्यो पेशालाई सम्मान गर्नु, मर्यादित बनाउनु र आर्थिक रूपमा सबल बनाउन सबैले मिलेर काम गर्‍यौं भने ढिलो–चाँडो आवश्यक गन्तव्यमा पुग्न सकिन्छ’ भने।

सुवेदीले नेपालको निर्जीवन बीमा क्षेत्रको प्रभावकारी सञ्चालनका लागि सर्भेयरहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनका अनुसार सर्भेयरहरूले अर्बौं रुपैयाँ बराबरको बीमित सम्पत्तिको क्षति मूल्याङ्कन गर्ने भएकाले यो पेशामा समस्या उत्पन्न भए निर्जीवन बीमा क्षेत्रमा नै गम्भीर असर पर्न सक्छ।

‘आज नेपालको सर्भे क्षेत्रले अर्बौं रुपैयाँको हाम्रो वित्तीय क्षेत्रको महत्वपूर्ण हिस्साका रूपमा रहेको निर्जीवन बीमाको क्षति मूल्याङ्कनको काम गरिरहेको छ। सर्भे पेशा संकटमा पर्‍यो, समस्या आयो वा कामकारबाही हुन सकेन भने निर्जीवन क्षेत्रमा नै ठूला समस्या आउने स्पष्ट छ’ उनले भने।

सर्भेयरहरूको समस्या समाधान गर्न प्राधिकरणले नयाँ कानुनी व्यवस्थासमेत समेटेर सर्भे निर्देशिका परिमार्जन गरेको जानकारी दिँदै उनले उक्त निर्देशिकाले धेरै समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गरे। ‘बीमा प्राधिकरणले त्यो बुझेर नै सर्भे निर्देशिकालाई नयाँ ढङ्गले, नयाँ कानुनलाई समेत समावेश गरेर अघि बढाएको छ। उक्त निर्देशिकाले सर्भेयरका धेरैभन्दा धेरै समस्या समाधान गर्छ। यद्यपि समयको मागअनुसार केही विषयमा परिमार्जन गर्नुपर्ने आवश्यकता देखिए र माग आयो भने हामी अध्ययन गरेर आवश्यक कार्य गर्नेछौं’ उनले बताए।

कार्यकारी निर्देशक सुवेदीले नेपाल विद्युतीय सवारीसाधन (ईभी) प्रयोग र आयातका हिसाबले अग्रणी मुलुकमध्ये एक बन्दै गएको उल्लेख गर्दै अबको युग नै ईभीको भएको बताए। विश्वभर ईभीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला नेपालमा पनि यसको विस्तारसँगै बीमा दाबी व्यवस्थापन र क्षति मूल्याङ्कनका नयाँ चुनौतीहरू थपिएको उनको भनाइ थियो।

‘ईभी गाडी भित्र्याउनेमा नेपाल अग्र स्थानमा रहेको छ। विश्वले नै यसलाई अपनाइरहेको बेला नेपालमा समेत ईभी गाडीको ठूलो प्रयोग बढेको छ। अबको जमाना ईभी गाडीको नै हो। यसबारे कसरी क्षति मूल्याङ्कन गर्न सकिन्छ भन्ने विषयमा आयोजना गरिएको यो कार्यक्रम स्वागतयोग्य छ’ उनले भने।

सुवेदीले आगामी दिनमा बीमा प्राधिकरण र सर्भेयरबीच थप समन्वय र सहकार्य आवश्यक रहेको औंल्याए। विशेषगरी बीमा दाबी भुक्तानीमा हुने ढिलाइ कम गर्न सबै पक्षबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनले जोड दिए।

‘भविष्यमा बीमा प्राधिकरण सर्भे क्षेत्रसँग समन्वय गर्न तयार छ। दाबी भुक्तानीमा भइरहेको ढिलाइलाई न्यून गर्ने विषयमा हामीले आपसी समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेछ’ उनले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*