शिखर इन्स्योरेन्सको ‘डबल ए माइनस’ रेटिङ पुनः पुष्टि, दाबी व्यवस्थापन क्षमतामा उत्कृष्टता कायम

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थागत साख मूल्याङ्कन पुनः पुष्टि भएको छ। इक्रा नेपालले कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘डबल ए माइनस’ स्तरमा यथावत् राख्दै यसअघि कायम गरिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट समेत हटाएको जनाएको हो ।
यस मूल्याङ्कनले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताप्रति उच्च स्तरको विश्वास रहेको तथा कम्पनीमा निकै कम साख जोखिम रहेको संकेत गर्दछ। इक्रा नेपालको भदौंमा भएको आन्दोलनबाट उत्पन्न दाबी भुक्तानीको प्रभाव व्यवस्थापन गर्ने कम्पनीको क्षमता पर्याप्त रहेको स्पष्ट भएको निष्कर्ष प्रस्तुत गरेको छ। कम्पनी पुनर्बीमा व्यवस्था उद्योगकै सबैभन्दा सुदृढ व्यवस्थामध्ये एक रहेको छ। विशेषगरी भूकम्प तथा आन्दोलनजस्ता विपद्का लागि गरिएको पर्याप्त पुनर्बीमा व्यवस्थाले यस्ता घटना भएमा कम्पनीको वित्तीय सक्षमता जोगाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
इक्रा नेपालका अनुसार सन् २०२६ मार्च ३० सम्म कम्पनीले उक्त घटनासँग सम्बन्धित २ अर्ब ७५ करोड ७० लाख रुपैयाँ बराबरको कुल बीमा दाबी प्राप्त गरेको थियो। यद्यपि, प्रभावकारी पुनर्बीमा व्यवस्थाका कारण कम्पनीको आफ्नै दायित्व हिस्सा करिब १३ प्रतिशत अर्थात् ३६ करोड ३० लाख रुपैयाँमा सीमित रहेको छ। यो रकम आर्थिक वर्ष २०२५ को करपूर्व नाफाको ५५ प्रतिशत बराबर भए पनि कम्पनीको बलियो वित्तीय अवस्था, पर्याप्त तरलता तथा पुनर्बीमा संरचनाले दायित्व सहज रूपमा व्यवस्थापन गर्न सक्ने इक्रा नेपालको निष्कर्ष छ। यस घटनाले चालु आर्थिक वर्षको नाफामा प्रभाव पार्ने सम्भावना रहे पनि कम्पनीको समग्र वित्तीय स्थायित्वमा ठूलो असर नपर्ने मूल्याङ्कन गरिएको छ।
शिखर इन्स्योरेन्स नेपालको निर्जीवन बीमा उद्योगमा सबैभन्दा ठूलो बजार हिस्सा ओगट्ने कम्पनीका रूपमा स्थापित छ। कम्पनीले कुल स्थूल बीमाशुल्क आम्दानीको करिब १२ देखि १३ प्रतिशत हिस्सा ओगट्दै आफ्नो नेतृत्वदायी स्थान कायम राखेको छ। लामो सञ्चालन अनुभव, देशभर फैलिएको शाखा सञ्जाल तथा अनुभवी व्यवस्थापन टोलीले कम्पनीको प्रतिस्पर्धात्मक क्षमता थप मजबुत बनाएको इक्रा नेपालको भनाइ छ।
कम्पनीको विवेकपूर्ण जोखिम व्यवस्थापन नीति, विशेषगरी विपद् तथा ठूला जोखिमका लागि गरिएको पुनर्बीमा व्यवस्था, आगामी दिनमा पनि कम्पनीको वित्तीय स्थायित्वका लागि महत्वपूर्ण आधार रहने देखिएको छ। कम्पनीको प्रमुख पुनर्बीमक जर्मनीस्थित ह्यानोभर रे रहेको छ, जसको वित्तीय क्षमता बलियो मानिन्छ। यही कारणले ठूलो परिमाणका दाबीहरू व्यवस्थापन गर्न कम्पनी सक्षम रहेको मूल्याङ्कन गरिएको छ।
नेपालमा बीमा क्षेत्रको पहुँच अझै न्यून रहेको तथा नेपाल सरकारले बीमा क्षेत्रको विस्तार र प्रवर्द्धनलाई निरन्तर प्राथमिकतामा राखेकाले कम्पनी तथा समग्र उद्योगका लागि भविष्यमा राम्रो वृद्धिको सम्भावना रहेको पनि उल्लेख गरेको छ। आगामी दिनमा शिखर इन्स्योरेन्सले उद्योगमा आफ्नो नेतृत्वदायी स्थान कायम राख्न सक्ने क्षमता, सोल्भेन्सीमा आएको सुधारलाई निरन्तरता दिन सक्ने अवस्था तथा चालु आर्थिक वर्ष नाफा वृद्धिको गति पुनः मजबुत बनाउन सक्ने क्षमता नै कम्पनीको भावी साख मूल्याङ्कनका प्रमुख आधार रहनेछन्।
वि.सं. २०६० चैत (मार्च २००४) मा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालका निजी क्षेत्रका निर्जीवन बीमा कम्पनीहरूमध्ये १३औँ कम्पनी हो। बीमा शुल्कका आधारमा निर्जीवन बीमा उद्योगमा करिब १२–१३ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनी यस क्षेत्रको ठूलो आकारको कम्पनीका रूपमा परिचित छ। २०८२ असार मध्य (मध्य जुलाई २०२५) सम्म कम्पनीले देशभर १२९ शाखामार्फत बीमा व्यवसाय संकलन तथा बिक्रीपछिका सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले सूचना प्रणाली जोखिम व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड ‘आईएसओ २७००१ः२०२२’ प्रमाणपत्र समेत प्राप्त गरेको छ। प्रमुख शेयरधनीहरूमा गौरव अग्रवालको १२ प्रतिशत, चन्दा शेर्पाको ६ प्रतिशत, बुद्ध एयर प्रालिको ६ प्रतिशत तथा विकास जे.बी. राणाको ३ प्रतिशत स्वामित्व रहेको छ। यसबाहेक अन्य लगानीकर्ताहरूको समेत कम्पनीमा हिस्सेदारी रहेको छ।












