ऋण भार बढ्दै : सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब, जिडिपीको ४४.८७ प्रतिशत

काठमाडौँ । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको कुल आकार २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको जेठ मसान्तसम्मको प्रतिवेदनअनुसार यो ऋण दायित्व कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४.८७ प्रतिशत बराबर रहेको छ ।
चालू आर्थिक वर्षको सुरुवात (साउन)मा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ थियो । त्यसबेला आन्तरिकतर्फ १२ खर्ब ६८ अर्ब २२ करोड र बाह्यतर्फ १४ खर्ब पाँच अर्ब ८२ करोड रुपैयाँ ऋण रहेको थियो ।
तर जेठ मसान्तसम्म आइपुग्दा कुल सार्वजनिक ऋणमा वृद्धि भई बाह्यतर्फ १५ खर्ब ८३ अर्ब ९१ करोड र आन्तरिकतर्फ १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले चालू आर्थिक वर्षमा कुल पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा जेठ मसान्तसम्म चार खर्ब १८ अर्ब १२ करोड रुपैयाँ ऋण प्राप्ति भएको छ । यो वार्षिक लक्ष्यको ७०.२० प्रतिशत हो ।
आन्तरिक ऋणतर्फ सरकारले तीन खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँ उठाएको छ, जुन वार्षिक लक्ष्यको ९३.५५ प्रतिशत हो । त्यस्तै, बाह्य ऋणतर्फ ७९ अर्ब ४६ करोड रुपैयाँ प्राप्त भएको छ, जुन लक्ष्यको ३४.०१ प्रतिशत मात्रै हो ।











