सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी

४ असार २०८३, बिहीबार १७:४६

काठमाडौं । नेपाल सरकारको विज्ञापन बोर्डले सामाजिक सञ्जालमार्फत भ्रामक तथा आधारहीन विज्ञापन प्रकाशन र प्रसारण नगर्न सम्बन्धित सबैलाई चेतावनी दिएको छ।

बोर्डले बिहीबार सूचना जारी गर्दै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक, युट्युबलगायत सामाजिक सञ्जालमा कानुनले निषेध गरेका वा आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य वस्तु र सामग्रीको विज्ञापन बढ्दो रूपमा देखिएको जनाएको छ।

बोर्डका अनुसार विशेषगरी कपाल उम्राउने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी समस्या निको पार्ने, शरीरको तौल घटाउने, मृगौला सफा गर्ने तथा शरीरका विषाक्त पदार्थ हटाउने जस्ता दाबी गरिएका सामग्रीको आधारहीन विज्ञापन सामाजिक सञ्जालमा व्यापक रूपमा भइरहेको पाइएको छ।

यस्ता विज्ञापनले सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी हुने जोखिम बढाउने र जनस्वास्थ्यमा समेत प्रतिकूल असर पार्न सक्ने भन्दै बोर्डले चासो व्यक्त गरेको छ।

विज्ञापन बोर्डले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा अन्य प्रचलित कानुनविपरीत कुनै पनि प्रकारका विज्ञापन प्रकाशन वा प्रसारण नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ। साथै भ्रम फैलाउने, अफवाह सिर्जना गर्ने वा आवश्यक स्वीकृति र प्रमाणीकरणबिनाका औषधिजन्य सामग्रीको प्रचार–प्रसार भएको पाइएमा तत्काल बोर्डमा उजुरी गर्न पनि आग्रह गरेको छ।

बोर्डले यस्ता भ्रामक विज्ञापन तत्काल हटाउन र भविष्यमा पुनः यस्ता गतिविधि नगर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ। कानुनविपरीत विज्ञापन गरेको पाइएमा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा २५ बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*